Logo

सलाम सुगत ! जसले आफू जेल परेरै भए पनि निगमलाई जहाज किने




काठमाडौं । पढाईले इञ्जिनियर सुगतरत्न कंसाकार पेशा र योग्यताले भने कुशल व्यवस्थापक हुन् । एमबीए कोर्स स्वअध्ययनबाटै पूरा गरेका कंसाकारको ख्याती भने यतिबेला निकै चुलिएको छ र यसको कारण हो– झन्डै जहाजविहीन भइसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि जहाज खरिद ।

कंसाकार नेपाल टेलिकमको प्रबन्ध निर्देशक दोहो¥याएर हुँदा उनले जीएसएम मोबाइल सेवा विस्तार गरेर एक प्रकारको क्रान्ति नै ल्याएका हुन् । त्यतिबेला संसारभर तीब्र गतिमा विकास भइरहेको मोबाइल सेवालाई नेपालमा स्थापित गराउने श्रेय उनले पाएकै कारण नेपाली मानसपटमा उनको नाम कहिल्यै नबिर्सिनेगरी गढेको छ ।

टेलिकमबाट सेवा निवृत्त भएपछि उनले नियुक्ति पाए– नेपाल वायुसेवा निगममा । निगममा महाप्रवन्धकका रुपमा नियुक्ति पाएका उनी कहिले कार्यकारी अध्यक्ष त कहिले प्रबन्ध निर्देशकका रुपमा एउटै जिम्मेवारी तर फरक भूमिकामा प्रस्तुत भइरहेका छन् ।

लाउडा, धमिजा, चेज एयर, चाइना साउदर्नलगायतका अनेकौं काण्डैकाण्डले बदनाम भइसकेको निगमप्रति सबैको भरोसा टुटेका बेला उनले निगमका लागि जहाज खरिदको योजना बनाउँदै कहिले प्रधानमन्त्री त कहिले अर्थमन्त्री र कहिले सञ्चय कोष त कहिले वाणिज्य बैंकका सीईओहरुसँग प्रस्तुतीमा महिनौं बिताए ।

दशकअघि निगम भन्नेवित्तिकै नाक खुम्च्याउनेमा सरकारी अधिकारीमात्र थिएनन् कि आफैंले निगमलाई त्यो अवस्थामा पु¥याउने राजनीतिक नेतृत्वसमेत निगम माथि जानै सक्दैन र यसमा थप लगानी गर्नै हुँदैन भन्ने मनोविज्ञानबाट निर्देशित थिए ।

तर, एक्लो वृहस्पति जसरी निगमलाई जसरी पनि माथि लैजान्छु भन्ने कंसाकारको दृढ इच्छाशक्तिका कारण निगम आज एयरबस युगमा प्रवेशमात्र गरेको छैन । नेपालको राष्ट्रिय ध्वाजावाहकसँग पनि युरोपसम्म उडान गर्नसक्ने जहाज छ भन्ने शीर ठाडो बनाउनसक्ने अवस्थामा पुगेको छ । निगमले आजैमात्र एयरबस ३३०–२०० जहाज नेपाल भित्र्याइसकेको छ भने यस्तै अर्को जहाज १ महिनाभित्रै ल्याउनेछ ।

जहाज खरिदका लागि असहयोग गर्नेमा तत्कालीन अर्थ मन्त्रालय नेतृत्व सबैभन्दा अगाडि थियो भने संसदको सार्वजनिक लेखा समिति र त्यसका सदस्यहरु जसरी पनि यो प्रकृया तुहाउने खेलमा लागेका थिए ।

निगम सञ्चालक समितिमा सदस्य रहेका अर्थका संस्थान समन्वय महाशाखाका तत्कालीन प्रमुख टंकमणि शर्मा (हालः महालेखा परीक्षक) बारम्बार बैठकमा अनुपस्थित भएर निर्णय नै गर्न नदिने खेलमा थिए । कुनै अदृश्य शक्तिबाट सञ्चालित शर्माले अहिले महालेखा परीक्षकको वार्षिक प्रतिवदेनमा समेत जहाज खरिदमाथि नियोजित रुपमै प्रश्न उठाएका छन् ।

यस्तै, लेखा समितिका तत्कालीन सभापति रामकृष्ण यादव आफैंमा इमानदार भए पनि तत्कालीन सदस्यहरु डा. प्रकाशचन्द्र लोहनी, हृदयश त्रिपाठी, दीपकुमार उपाध्याय, धनराज गुरुङ, रवीन्द्र अधिकारी (हाल पर्यटनमन्त्री) लगायतले जहाज खरिदमा गरेको अर्घेल्याइँ अहिले सम्झनलायक छ ।

जहाज खरिदका सम्बन्धमा बैना रकममात्रै पठाउँदा पनि त्यसमा भ्रष्टाचारको आक्षेपमा लेखासमितिले अख्तियारमा लेखि पठाउने र अख्तियारले पनि बिनाआधार अदालतमा मुद्दा दायर गर्दा कंसाकार धरौटी बुझाउन नसकी जेलसमेत परे ।

तर, अन्याय धेरै दिन टिक्दैन भनेजस्तै कंसाकारले चाँडै सफाई पाए र जहाज खरिद प्रकृया पुनः सुरु गरे । यससँगै निगमले किन्ने भनेको जहाजको भाउ झन्डै २ अर्ब बढिसकेको थियो । तर, पनि जहाज आइपुग्ग्यो र यससँगै कंसाकार फेरि निगम फर्किए ।

तेस्रोपटक निगम पुगेका कंसाकार न्यारोबडीको सीमित बिजनेसमा रमानउ चाहेनन् र वाइडबडीको सपना बुन्न पुगे । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलका कारणले सरकार साक्षी बस्न नमान्दा यो प्रकृया अघि बढाउन कृष्णबहादुर महरा अर्थमन्त्री भएको समय नै कुर्नुप¥यो र निगमले पुनः सञ्चय कोष तथा लगानी कोषबाट ऋण पायो ।

यसरी एउटै व्यक्तिको दृढ इच्छाशक्तिका कारण नेपाल भ्रमण वर्ष २०२० को पूर्वाद्र्धमा निगमले रहरलाग्दा वाइडबडी जहाजसमेत पाएको छ । नेपालको पर्यट उद्योगका लागि निश्चय नै यो एउटा माइलस्टोन हुनेछ ।
कुशल व्यवस्थापक कंसाकारप्रति हार्दिक सम्मान

प्रतिक्रिया दिनुहोस्