Logo

कर्पोरेट-बजार

नेपाल-अष्ट्रेलिया उद्योग वाणिज्य संघद्वारा नवनियुक्त राजदूतको स्वागत


GDP Nepal
   १५ चैत्र २०७७, आइतबार


काठमाडौं । नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघले नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फिलिसिटी भउकको सम्मानमा स्वागत समारोह आयोजना गरेको छ ।

राजदूत फिलिसिटी भउकले गत फागुन पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरी जिम्मेवारी सम्हालेकी हुन् ।

राजदूत भउकलाई स्वागत गर्दै संघका अध्यक्ष अखिलकुमार चापागाईंले नेपाल र अष्ट्रेलियाबीच ६१ वर्ष पुरानो दौत्य सम्बन्ध रहेको स्मरण गर्दै नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य रहेको अष्ट्रेलिया विद्यार्थी स्रोतका आधारमा चीन र भारतपछि नेपाल तेस्रो स्थानमा रहेको जानकारी दिए ।

नेपालबाट हालसम्म ५२ हजार विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत रहेको उल्लेख गर्दै अध्यक्ष चापागाईंले भने, “अहिले कोभिडका कारण विद्यार्थी र पर्यटकलाई असर परे पनि चाँडै नै दुई मुलुकबीच आर्थिक सामाजिक सम्बन्ध नवीकरण हुनेछ ।”

चापागाईंले नेपालमा अष्ट्रेलियाबाट प्राप्त सहयोगको प्रशंशा गरे भने नेपालको व्यापारघाटा भने उच्च रहेका कारण त्यसलाई कम गर्न दुवै मुलुकले प्रयास गर्नुपर्ने र यसमा राजदूत भउकको भूमिकाको अपेक्षा गरिएको धारणा राखे ।

नेपालको जलविद्युत्, पर्यटन र पूर्वाधार क्षेत्रमा अष्ट्रेलियाली लगानी अपेक्षा गरिएको र त्यसमा नवनियुक्त राजदूतले सहजीकरण गर्ने अपेक्षा गरिएको अध्यक्ष चापागाईंको भनाइ छ ।

कार्यक्रममा राजदूत भउकले दुवै मुलुकका व्यवसायीबीच सम्बन्ध विस्तारमा संघले खेलेको भूमिकाको प्रशंशा गरिन् । उनले विगतमा दुई मुलुकबीच भएका आर्थिक सम्बन्धको विस्तारमा जोड दिने बताइन् ।

कोरोनाले आर्थिक सामाजिक क्षेत्र प्रभावित पारेको उल्लेख गर्दै आगामी दिनमा व्यापारका अवसर तथा आर्थिक सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको धारणा राखिन् ।

आफू कठिन अवस्थामा जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै निजी क्षेत्रको सहयोगले नै दुई मुलुकको सम्बन्ध विस्तार नयाँ उचाइमा पुग्ने उनको भनाइ छ ।

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह