Logo

२० वर्षपछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स, थपिँदै ६६० एजेन्ट




काठमाडौं । झन्डै दुई दशकपछि भन्सार एजेन्टका लागि लाइसेन्स खुलेको छ । दुई दशकको अवधिमा वैदेशिक व्यापारको परिमाण सयौं गुणा वृद्धि भए पनि भन्सार एजेन्टको संख्या भने बढ्न सकेको थिएन ।

पहिले लाइसेन्स लिएका एजेन्टहरुमध्ये कतिपय सक्रिय नहुँदा हाल एजेन्टमार्फत भन्सारसम्बन्धी काम गराउन व्यवसायीलाई गाह्रो परिरहेको थियो । सरकारले अहिले पनि नयाँ एजेन्ट नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको छ।

भन्सार विभागले ६६० जना भन्सार एजेन्ट नियुक्ति गर्ने भएको छ र यसका निमित्त इजाजतपत्र लिन इच्छुकका लागि अनलाइन दरखास्त आह्वान गरेको छ।

मापदण्डाअनुसार भन्सार एजेन्ट बन्नका लागि आवेदन दिन २१ वर्ष उमेर पुगेको हुनु पर्छ भने कम्तिमा स्नातक उत्तीर्ण गरी कम्प्युटर सम्बन्धी तीन महिनाको आधारभूत तालिम लिएको हुनु पर्छ ।

आवेदन दिनेहरुको लिखित र मौखिक दुवै परीक्षा हुने छ। दरखास्त दिँदा ३ हजार रुपैयाँ लाग्ने छ। दरखास्त वैशाख ५ गतेभित्र दिइसक्नु पर्छ। त्यसपछि दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दिन सकिन्छ।

लिखित र मौखिक पास भएपछि नतिजा प्रकाशित भएको ९० दिनभित्र लाइसेन्सबापत ७ हजार र धरौटीबापत सात लाख रुपैयाँ भन्सार विभागलाई बुझाउनु पर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्