Logo

Banner-news

निर्यात व्यवसायी महासंघ अध्यक्षमा पुनः गुरुङ, पाँच वर्षमा ७ खर्बको निकासी लक्ष्य


GDP Nepal
   २८ चैत्र २०७७, शनिबार


काठमाडौं । निर्यात क्षेत्रसँग सम्बन्धित विभिन्न वस्तुगत संघ तथा कर्पोरेट हाउसहरुको संस्था निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को पहिलो साधारणसभाले रामबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नेपाल उनी गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष गुरुङ गण्डकी प्रदेशका प्रदेश सांसद पनि हुन् । महासंघका संस्थापक अध्यक्ष गुरुङ पहिलो साधारणसभापछि निर्विरोध अध्यक्षमा निर्वाचित भए ।

महासंघको उपाध्यक्षमा तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल, सिल्क एशोसिएसनका अध्यक्ष शंकरप्रसाद पाण्डे, पश्मिना उद्योग संघका निवर्तमान अध्यक्ष दुर्गाविक्रम थापा र हब्र्स एन्ड हर्बल एशोसिएसनका निवर्तमान अध्यक्ष गोविन्द घिमिरे चयन भएका छन् ।

महासंघको महासचिवमा उनी फेल्ट उत्पादक संघका अध्यक्ष अमृत खड्का निर्वाचित भएका छन् ।

निर्यात प्रवद्र्धनका लागि सहकार्यको आग्रह
आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवद्र्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् । निर्यात व्यवसायी महासंघको साधारणसभामा सहभागी नेपाल सरकारका वरिष्ठ मन्त्री एवम् निजी क्षेत्रका प्रतिनिधिले साझा प्रयास गर्ने हो भने आगामी पाँच वर्षभित्र निर्यातलाई सात गुणामा वृद्धि गर्न सकिनेमा जोड दिए ।

नेपाल उपभोक्ता मात्रै नभई उत्पादक र निर्यातक समेत हुनुपर्नेमा साझा धारणा राख्दै त्यसमा सरकारको तर्फबाट सुधार गर्नुपर्ने सबै कानूनी, नीतिगत एवम् प्रक्रियागत झन्झट हटाउने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

आयातका तुलनामा निर्यात असाध्यै न्यून भएको, व्यापार घाटा बढिरहेको सन्दर्भमा त्यसलाई सुधार गर्न सबैको साझा प्रयासको खाँचो रहेको समेत उनीहरुको भनाइ छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाएर आर्थिक समृद्धिको मार्गमा सरकार अगाडि बढिरहेको बताए । उनले समृद्धिका लागि निर्यात पनि एउटा महत्वपूर्ण औजार भएकाले सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने विश्वास दिलाए । उनले महासङ्घको तर्फबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार सदा तयार रहेको समेत बताए ।

मन्त्री पौडेलले निर्यात प्रवद्र्धनका लागि सरकारले के कस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हो, त्यसको एकमुष्ठ खाका पेश गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

सरकार निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न तयार रहेको र व्यवसायीको मनोबल उच्च बनाउन समेत लागिपरेकाले सबै खालका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र पुनरोत्थान हुने दिशामा अगाडि बढिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका भएका कतिपय विषय कार्यान्वयन भएको र केही बाँकी भएका विषय पनि आगामी आवको बजेटमा सम्बोधन गरिने अर्थमन्त्रीको भनाइ थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्यात बढाउनका लागि सरकारले सम्भाव्यताको अध्ययन गरेर योजनावद्ध रुपमा काम गरिरहेको र त्यसलाई अझै विस्तार गर्ने उल्लेख गरे ।

नेपाल उपभोक्ता मात्रै नभई उत्पादक समेत हुने दिशामा अग्रसर रहेको भन्दै व्यापार तथा वाणिज्यका क्षेत्रमा रहेका समस्यालाई क्रमशः समाधान गर्दै जाने स्पष्ट पारे ।

अल्पविकसित देशको हिसाबले हामीले धेरै सुविधा पाएको भएपनि त्यसलाई के कति मात्रामा हामीले उपभोग ग¥यौं भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ ।

नेपाललाई चीन, भारत, यूरोपेली सङ्घ तथा अमेरिकाले विशेष सहुलियत दिएको भएपनि हामीले त्यसलाई पूर्णरुपमा सदुपयोग गर्न नसकेको परराष्ट्रमन्त्रीको भनाइ छ । सरकारले विभिन्न देशसँग गरेको वाणिज्य सन्धिको पुनरावलोकन गर्न लागेको र भारतसँग पनि मिहिन तरिकाले सम्वाद भइरहेको जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको अधिकतम् उपभोग गर्दै इ–कमर्स तथा इ–विजनेशनको क्षेत्रमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

उनले सरकार डिजिटल नेपालको फ्रेमवर्क बनाएर अगाडि बढिरहेको र छिट्टै डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा आउन लागेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कम्पनीको उद्घाटन गर्ने बताउँदै मन्त्री गुरुङले निर्यात हुने सामानमा गुणस्तरलाई समेत ध्यान दिन अनुरोध गरे ।

उनले निर्यात बढाउनका लागि मन्त्रिपरिषद्बाट हल गर्न सकिने विषयलाई त्यहीँ सम्बोधन गरिने र त्यो भन्दा पनि उच्च तहमा गर्नुपर्ने भए पनि सरकार तयार रहेको भन्दै व्यवसायीको साथमा सरकार रहेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले व्यवसायको प्रवद्र्धन गर्दै निर्यातमूलक उद्योगको विकास र विस्तारका लागि आफूहरु प्रतिवद्ध रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि चालु आवको बजेट र मौद्रिक नीतिमा छुटेका विषयलाई आगामी आवमा समावेश गर्न आग्रह गरे ।

उनले आर्थिक कुटनीतिका माध्यमबाट निर्यात प्रवद्र्धन गर्न र नेपालको प्रतिनिधित्व गरेर विदेशमा जाने कुटनीतिक अधिकारी तथा मिशन प्रमुखलाई सोहीअनुसारको भूमिका दिन र मूल्याङ्कनको आधार बनाउन आग्रह गरे ।
महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले निर्यात बढाउन सरकार र निजी क्षेत्रले लक्ष्य नै निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित : २८ चैत्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह