Logo

Banner-news

भौतिक विकासले मात्र समृद्धि सम्भव छैनः आनन्दराज बतास


GDP Nepal
   २३ बैशाख २०७८, बिहिबार


काठमाडौं, २३ वैशाख । राजनीतिक परिवर्तनसँगै मुलुकमा पछिल्ला आधा दशकयता समृद्धिको चर्चा बढेको छ । आर्थिक सामाजिक विकाससँगै नेपाललाई समृद्ध बनाउनुपर्छ भन्नेमा राष्ट्रिय सहमतिजस्तै बने पनि अहिलेसम्म हाम्रो समृद्धिको आधार के हो र यो कसरी प्राप्त हुन्छ भन्नेमा गम्भीर विमर्श हुन सकेको छैन ।

समृद्धिका सम्बन्धमा सरकार, राजनीतिक नेतृत्व, नीति निर्माता तथा आम सर्वसाधारण र चिन्तकहरुका आफ्नै बुझाइ पनि छन् । अहिलेसम्म ठूला भौतिक संरचनाको निर्माण र त्यसबाट हुने आयआर्जनलाई नै समृद्धिको आधार मानिँदै आएको छ र सरकारको समृद्ध नेपाल, सुखी नेपाली अभियानको दिशा पनि यसैतर्फ केन्द्रित देखिन्छ ।

तर, सामाजिक उद्यमी आनन्दराज बतासले समृद्धिका सम्बन्धमा केही पृथक धारणा राख्छन् । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहभागी उद्यमी बतासले भौतिक विकास निर्माणले मात्र मुलुकमा समृद्धि सम्भव नरहेको धारणा राखे ।

स्व. अधिकारीको ५२ औं जन्मजयन्तीका अवसरमा आयोजित विकास, समृद्धि, राजनीति र रवीन्द्र अधिकारी विषयक अन्तरक्रिया कार्यक्रममा सामाजिक उद्यमी बतासले आफ्नो व्यावसायिक जीवनको आरोह अवरोहलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै आफू धनी नभइ समृद्ध बन्नकै लागि व्यावसायिक जीवनमा सक्रिय रहेको बताए ।

“ म गीता छोएर भन्न सक्छु कि म धनी बन्न हैन, समृद्ध बन्न व्यवसायमा सक्रिय छु,” बतासले भने, “धनी हुँदा म एकजना मात्र धनी हुन्छु तर समृद्ध हुँदा मेरा १६ कम्पनीमा कार्यरत १ हजार जनालाई खुसी दिन सक्छु ।”

बतास अर्गनाइजेसन र बतास फाउन्डेसनका अध्यक्षसमेत रहेका उद्यमी बतासले आफू १६ वर्ष उमेरको हुँदा धनी बन्नकै लागि व्यवसाय सुरु गरेका स्मरण गर्दै धनी बन्न खोज्दा आफूसँग १० जनामात्र कर्मचारी रहे पनि अहिले समृद्ध बन्ने यात्रामा अघि बढिरहँदा एक हजार कर्मचारी प्रत्यक्ष जोडिएको सुनाए ।

आफूले जीवनमा फेन्सी, किराना, पीसीओ लगायतका व्यवसाय गरेर धनी बन्न खोजेको तथा धनी बन्नुको उद्देश्य मोटरसाइकल किन्नु, राम्रो खानु लाउनु तथा जहाजमा काठमाडौं जाने उद्देश्यमात्र रहेको उनले अनुभव सुनाए । तर, समृद्धिका लागि धनमात्र नभइ सन्तुष्टि पनि आवश्यक पर्ने उनी बताउँछन् ।

उद्यमी बतासले ठूला संरचना र भौतिक विकासले समृद्धि सम्भव नरहेको स्पष्ट पारे । भौतिक विकाससँगै आध्यात्मिक चेत पनि आवश्यक रहेको उनको भनाइ छ । “नेपाललाई सिंगापुर वा स्वीट्जरल्याण्डजस्तो होइन एक शताब्दीअघिको काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरजस्तै बनाएर प्रविधि त्यसमा जोड्नुपर्छ,” बतास भन्छन्, “समृद्धको नाममा सुखी हुने कि खुसी ? धनी मान्छे सुखी हुन सक्छ तर खुसी हुन सक्दैन । समृद्धि भनेको खुसी हो । हाम्रो विकासको प्रयास पनि खुसी र समृद्ध हुने नै हुनुपर्छ ।”

प्रस्तुत छ, उद्यमी बतासको धारणाको सम्पादित अंश
विकासका सन्दर्भमा म अलिकति फरक धारणा राख्दछु । हामी नेपाली र नेपालको विकास के हो, हामी अहिले कहाँ छौं र हाम्रो किन हुन सकेन अथवा अझ कसरी विकास गर्न सकिन्छ भनेर विमर्श हुनुपर्छ । हामीकहाँ यस्ता विमर्शहरु बिरलैमात्र हुने गर्दछन् ।

हामी सबैले अझ भनौं हाम्रो समाज, नीति निर्माता तथा नेतृत्व वर्गले अब ‘आउट अफ द बक्स’ गएर सोच्नुपर्ने बेला आएको छ । ५० वर्षको हाम्रो आवधिक योजना र यो बीचमा जे भनिँदै गरिँदै आएको छ । त्योभन्दा फरक ढंगले सोच्नुपर्ने बेला आएको छ ।

नेपालमा धेरै राजनीतिक क्रान्तिहरु भए । विकास भौतिक मात्र नभै राजनीतिक चेतनाको विकास पनि भएकै छन् । राजनीतिक चेतनाको विकासको कुरा गर्ने हो भने हामी संसारकै उत्कृष्टमध्येका एक हौं । विकास योजना निर्माणमा पनि भएका ठूला नामहरु हामीसँग छन् ।

तर, यतिबेला नेपाली समाजको विकाससम्बन्धी धारणाको चर्चा गर्नुपर्दा व्यावसायिकता, इमानदारिता तथा सकारात्मक सोच हराएको महशुस भइरहेको छ । हामीले सामाजिक सञ्जालमात्र हेर्ने हो भने समाज नकारात्मक सोचबाट अगाडि बढेको देखिन्छ । सकारात्मक सोचको विकासमात्र नभइ बौद्धिक सोचको विकास पनि हराएको हो कि भन्ने अनुभूति हुन्छ ।

हाम्रा नीति निर्माता, नेतृत्वले नेपालको विकासको आधार भनेको कृषि, जलविद्युत्, पर्यटन तथा जडिबुटीको क्षेत्रलाई लिएको पाइन्छ । निश्चय पनि यी क्षेत्र आर्थिक विकासमा निकै महत्वपूर्ण छन् । यसमा बिमति राख्नुपर्ने ठाउँ छैन तर यी क्षेत्रलाई अगाडि बढाउन हामीले के गरिरहेका छौं भन्ने निकै महत्वपूर्ण छ ।

निजी क्षेत्रले हालसम्म ७५० मेगावाट जलविद्युत उत्पादन गरेर राष्ट्रिय ग्रीडमा जोडिसकेको अवस्था छ । आउँदो २ वर्षभित्रमा १५ सय मेगावाट ग्रीडमा जोडिँदैछ । निजी लगानीकर्ताले देशको विकासमा गरेको योगदानका रुपमा यसलाई स्वीकार्नुपर्छ । तर, दुर्भाग्य एउटा हाइड्रोपावर गर्नु भनेको माओवादीको १२ वर्षे जनयुद्धभन्दा सजिलो छैन ।

एउटा प्रोजेक्ट लिएर गाउँमा जाँदा लगानीकर्ताले प्रतिफल हेरिरहेको हुन्छ भने स्थानीयमा चाहिँ कसरी यसलाई धुत्न सकिन्छ भन्ने मानसिकता पनि देखिन्छ । यस्तो कठिन परिस्थितिमा पनि व्यवसायी र लगानीकर्ता लड्दै सफलता हासिल गर्न सकिन्छ भनेर अगाडि बढिरहनु साँच्चै सकारात्मक सोचको उपज हो ।

हाम्रो समृद्धिको आधार पर्यटन पनि हो । तर, पर्यटनमा कस्तुरीले आफ्नै नाभीको बिना नचिनेर भौतारिँदै हिँडेको भनाइ सान्दर्भिक भइरहेको छ ।

चीन र भारतको कूल जनसंख्याको १–१ प्रतिशतमात्र भित्र्याउन सकेमा २ करोड ६५ लाख पर्यटक नेपाल आउन सक्छन् । त्यो असम्भव भएमा ०.५ प्रतिशतको कल्पना गरौं । बाँकी विश्वलाई बिर्सौं । १ करोड ५० लाख पर्यटक त दुई मुलुकबाटै आउन सक्छन् ।

डेढ करोड पर्यटक आएमा अहिलेका मात्र होइन अर्को ३ वर्षमा बन्ने पूर्वाधारले धान्न सक्दैनन् । हामीले घर गोठमा पनि पर्यटक राख्नुपर्ने अवस्था आउन सक्छ ।

पर्यटनमा पूर्वाधारका विषयमा मेरो अलिकता फरक मत छ । भौतिक पूर्वाधारले मात्र पर्यटक ल्याउन सकिँदैन । हामीले भौगोलिक विविधता, प्राकृतिक सुन्दरता, संस्कृति नै बेच्नुपर्छ ।

चीन, अमेरिका, युरोप जहाँ गए पनि पूर्वाधार उस्तै छ । एकपटक गएपछि दोस्रोपटक जान मन लाग्दैन । तर, प्राकृतिक सुन्दरता एकपटक हेरेर अघाइँदैन । पटकपटक गइरहनु पर्छ ।

हामीले पर्यटनमा छिमेकी भुटानको अनुभव हेर्नु पर्छ । हाम्रोमा पर्यटक झोले आए भने उनीहरुले गर्ने खर्चबाट उनीहरुको फोहोर उठाउन पनि नपुग्ने अवस्था छ । हाइ भ्यालु लो इम्प्याक्ट पर्यटक जरुरी छ । सगरमाथा सरसफाइमा हामी बर्सेनि कति खर्च गर्छौं ?

यसैले हामीले २० लाख हैन, खर्चिला ५ लाख पर्यटक ल्याउन सके पनि धेरै राम्रो हुन्छ । भुटानले २ लाख पर्यटक भित्र्याउँदा यहाँ ११ लाख आउँदाको भन्दा बढी आम्दानी छ भन्ने नबिर्सौं । भुटानमा एउटा पर्यटकल ८२ डलर प्रतिदिन खर्च गर्छ तर नेपालमा आधा पनि गर्दैन ।

नेपाली पर्यटनको प्रतिस्पर्धी संसारमा छैन । पैसाले सगरमाथा बन्न सक्दैन, यो आध्यात्मिकता, यो संस्कृति, यो जैविक विविधता बन्न सक्दैन । हामी यो देश समृद्ध भयो भने विकसित मुलुकले बनाएको प्रविधि किन्न सक्छौं । तर, उनीहरुले हाम्रो सम्पदा किन्न सक्दैनन् ।

हाम्रो कमजोर मानसिकताको उपज हो कि सुनको थाल फैलाएर कस्तुरीको बिना खोजिरहेका छौं । यस सन्दर्भमा म हालै सामाजिक सञ्जामा निकै भाइरल पनि भएको एउटा उदाहरण सम्झन्छु । हरिणले प्रतिघन्टा ८० किमी दौडन सक्छ तर बाघले ६० किमीमात्र । तर, बाघले लखेटेर हरिणको शिकार गर्छ किनकी उसको मनोबल कमजोर हुन्छ ।

हामी नेपालीले पनि फरक ढंगले सोच्न सक्दैनौं भने बलियो र सकारात्मक सोच राखेनौं । सुनको थालमा भिख माग्ने अवस्थामा हामी छौं ।

अब समृद्धिका कुरा गरौं । समृद्धिका सन्दर्भमा १०० वर्षअघिको काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुर हेर्यौं भने हामी धेरै समृद्ध थियौं । अमेरिका जस्तो देश नजन्मँदै हामी समृद्ध थियौं । यसैले हामीले चाहेको समृद्धि कस्तो हो ? पुनर्विचार गर्नुपर्छ ।

समृद्धि भनेको प्राविधिक, आर्थिक, भौतिक र संरचनागत विकास मान्ने हो भने धेरै ठूलो कुरा होइन । त्यो छिटै प्राप्ति पनि हुन्छ । पहिलो र दोस्रो विश्वयुद्ध नै यसको कारण हो ।

भौतिकवादको चरम विकासले समृद्धि सम्भव छैन, आध्यात्मवादको विकास यसमा जरुरी छ । हामीले खोजेको विकासले भविष्यको विनास सुनिश्चित छ । भौतिक पूर्वाधार बन्नुहुँदैन भन्न खोजिएको होइन । भौतिक प्रगति र आर्थिक प्रगतिमा आध्यात्मिक प्रगति पनि जरुरी छ । आध्यात्मले हाम्रो पर्यावरण पनि संरक्षण गर्दछ र भोलिको पुस्ताबारे पनि सोच्दछ ।

नेपाललाई सिंगापुर वा स्वीटजरल्याण्डजस्तो होइन कि एक शताब्दीअघिको काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरजस्तै बनाएर प्रविधि त्यसमा जोड्नुपर्छ ।

समृद्धको नाममा सुखी हुने कि खुसी ? धनी मान्छे सुखी हुन सक्छ तर खुसी । यसैले समृद्धि भनेको खुसी हो । हाम्रो विकासको प्रयास खुसी र समृद्ध नै हुनुपर्छ ।

मेरो आफ्नै कुरा गर्ने हो भने म १६ वर्ष हुँदा धनी नै बन्न व्यवसाय सुरु गरेको हो । फेन्सी, किराना, पिसीओ… मैले धेरै व्यवसाय गरेँ र यी सबैको उद्देश्य धनी बनेर मोटरसाइकल किन्नु, राम्रो खानु लाउनु र जहाजमा काठमाडौं जानु थियो ।

धनी बन्न खोज्दा मसँग मुश्किलले १० जना कर्मचारी थिए तर अहिले १६ कम्पनीमा १ हजार कर्मचारी छन् । म गीता छोएर भन्न सक्छु कि म धनी हैन समृद्ध बन्नलाई कम्पनी चलाइरहेको छु । धनी हुँदा १ जना ममात्र धनी हुन्छु तर समृद्ध हुँदा १ हजार लाई खुसी दिन सक्छु ।

रवीन्द्रजीले भन्नुभएजस्तै यो देशमा सही नीति र नेतृत्व हुने हो भने मजस्ता सयौं व्यवसायीले हजारौं कम्पनीमार्फत लाखौंलाख रोजगारी सिर्जना गर्न सक्नेछन् ।

भारतको गल्लीमा, अरबको खाडीमा नेपालीले असमयमै मर्नु पर्दैन । मानिसले इमानदारीपूर्वक काम गर्दा ४५ हजारको फोटोकपी मेसिन किन्नलाई २५ हजार ऋण लिनुपथ्र्यों भने त्यो व्यक्तिले आज १ हजारलाइै रोजगारी दिन सक्छ भने राज्यलाई करोडौं राजस्व बुझाउन सक्छ । ३५ वर्षे मेरो व्यक्तिगत व्यावसायिक जीवनले धेरै आरोह अवरोह भोग्यो, नीति र नेतृत्व असल हुने हो भने अबको पुस्ताले अवरोहको सामना गर्नुपर्दैन ।

अन्त्यमा, समृद्धिप्रेमी नेतृत्व रवीन्द्रजीको इमानदारिताको चर्चा गर्न चाहान्छु । माघ १९, २०६१ मा राजा ज्ञानेन्द्रले कु गर्दा हामी सँगै थियौं । रवीन्द्रजीलाई युवराज पारस र प्रवीण गुरुङ काण्ड सम्झाएर तपाइँमाथि आक्रमण हुन सक्छ, भारत जानुस् भनेर मैले प्रेसर गरेँ, उहाँ जान चाहनुभएन । बरु शाही कु विरुद्ध आन्दोलन गर्नुभयो । उहाँको राजनीतिक नैतिकता र इमानदारिता यहाँबाट प्रष्ट हुन्छ । धन्यवाद ।

प्रकाशित : २३ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह