Logo

कर्पोरेट-बजार

‘वर्क फ्रम होम’लाई सहज बनाउन नेपाल टेलिकमको सेवामा थप सुविधा !


GDP Nepal
   ७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमले निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनार जस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि विभिन्न सुविधाहरु ल्याएको छ । भौतिक दुरी कायम गर्नुपर्ने हालको अवस्थामा एक अर्काबीच गिफ्टको रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न/गराउन सकिने टेलिकमले जनाएको छ । 

ब्यालेन्स ट्रान्सफर 
नेपाल टेलिकम एपमा उपलब्ध ‘ब्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# ​डायल गरेर पनि ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE​ लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको ब्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

रिचार्ज कार्डको प्रयोग 
बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल  गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।  

गिफ्ट प्याकेज 
नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप  आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ । नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । 

विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ । 

यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिंदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट ब्यालेन्स रकम काटिन्छ ।

मोबाइल बैंकिङ 
हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

अनलाइन रिचार्ज 
बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ । यसका लागि https://www.ntc.net.np/recharge ​लिंंकको प्रयोग गर्नुपर्दछ । यही लिंक मार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ । 

विभिन्न डिजिटल वालेटको प्रयोग 
नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ । 

एमपोस पिनलेस रिचार्ज 
नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरू (जस्तै: स्टेशनरी पसल)ले ग्राहकको मोबाइलमा सिधै ब्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले ब्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् । 

सेल्फ केयरको प्रयोग 
नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबैभन्दा पहिले रजिष्टर गर्नुपर्छ । रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ । सेल्फ केयर मार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । यसैबाट आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध ब्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह