Logo

Banner-news

जर्मनीस्थित दूतावास बिक्री गर्ने निर्णय र परराष्ट्र मन्त्रीमा महासेठ नियुक्तिबीच के सम्बन्ध ?


GDP Nepal
   २२ जेष्ठ २०७८, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा सबैभन्दा कम विवादित र प्रतिपक्षीहरुले पनि आलोचना गर्न नसक्ने मन्त्री हटाए, प्रदीप ज्ञवाली । परराष्ट्रमन्त्रीका रुपमा ज्ञवालीको प्रस्तुति त्यति अब्बल नरहे पनि आलोचनायोग्य भने थिएन ।

आफैंमा इमानदार र मीठो अभिव्यक्ति शैलीका कारण ज्ञवाली ओली सरकारको आलोचनाबीच पनि सहानुभूतिका पात्र त छँदै थिए, त्यसमाथि मन्त्रीबाट हट्नेवित्तिकै उनले आफ्नो आम्दानी विवरण सार्वजनिक गरेर नैतिकताको कसीमा उत्रिने प्रयास गरेका छन् ।

पार्टी पंक्तिमा लोकप्रिय नै रहे पनि प्रधानमन्त्री ओलीले ज्ञवालीमाथि पूर्ण विश्वास भने सुरुदेखि नै गरेका थिएनन् । बालुवाटार स्रोतका अनुसार विभागीय मन्त्री ज्ञवालीभन्दा आफ्ना विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईमार्फत उनले वैदेशिक मामिलासम्बन्धी काम गर्दै आएका थिए ।

यद्यपि, ज्ञवालीले यो विषयमा कहिल्यै असन्तुष्टि जनाएनन् र सधैँ प्रम ओलीको एस म्यानका रुपमा रहिरहे । कतिपय सन्दर्भमा ओलीको बचाउका निमित्त कूतर्कको सहारा लिए पनि समग्रमा भने उनको शालीन एवं निष्कलंक छवि धुमिल हुन पाएन ।

ज्ञवाली परराष्ट्र मन्त्री छँदाछँदै अन्तिम समयमा भने एउटा विवादास्पद निर्णय गरिएको छ । जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको बोनस्थित घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । सोही दिन परराष्ट्र मन्त्रालय अन्तर्गत नै सगरमाथा संवाद आयोजना गर्ने समेत निर्णय भए पनि अघिल्लो निर्णय भने विवादित बन्न पुगेको छ ।

नेपालले दशकौंदेखि उपयोग गर्दै आएको विदेशस्थित घरजग्गा बिक्री गर्नुपर्ने कुनै स्पष्ट कारण नभइ जर्मनीमा रहेको घरजग्गा बिक्रीको निर्णय किन गर्नुपर्यो भन्ने स्पष्ट आधार दिन सकेको छैन । यो निर्णयलगत्तै कार्यान्वयनका बेला मन्त्री फेरिनु झनै शंकास्पद देखिएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठको पब्लिक इमेज राम्रो छैन र उनी आर्थिक मामिलामा पनि निकै कमजोर मानिन्छन् । अघिल्लो पटक कमजोर कार्यसम्पादन र विवादास्पद छविका कारण आफैंले मन्त्रिपरिषदबाट बाहिर्याएका महासेठलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिएर ओलीले किन परराष्ट्र मन्त्रालय सुम्पिए भन्ने रहस्यमय देखिन्छ ।

मन्त्री महासेठ गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोका बहिनी ज्वाइँ हुन् । उनलाई पटकपटक मन्त्री बनाइनु र एमालेभित्र पनि शक्तिशाली रहिरहनुमा महतो र ओलीबीचको सम्बन्ध नै मुख्य कारण हो ।

यसपटक जर्मनीको घरजग्गा लिलामीमा महतोको रुचि रहेको र त्यसको कार्यान्वयन मन्त्री ज्ञवालीमार्फत सम्भव नदेखिएपछि महासेठलाई ससम्मान भित्र्याइएको जानकारहरु बताउँछन् । अर्बौं मूल्य पर्ने उक्त घरजग्गा बिक्रीको निर्णय आफैंमा विवादित रहेको र त्यसमा विचौलियका रुपमा महतो प्रवेश गरेसँगै मन्त्री फेरिएको टिप्पणी कुटनीतिक वृत्तमा हुने गरेको छ ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह