Logo

घुमफिर

पर्यटन दिवसको अवसरमा ७ जना महिला उद्यमीलाई सम्मान


GDP नेपाल
   १२ आश्विन २०७८, मंगलबार


काठमाडौं ।

नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रमा सक्रिय ७ जना महिला उद्यमीलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवस २०२१ को अवसरमा परिसंघले उहाँहरूलाई सम्मान गरेको हो ।

परिसंघले लक्की क्षेत्री, श्रद्धा जोशी, निमी शेर्पा, नन्दिनी लाहे थापा, सुष्मा तामाङ, निशा भोटे र शर्मिला काफ्लेलाई सम्मान गरेको छ । उहाँहरू पर्यटन प्रवद्र्धन एवं विकासमा सक्रिय रहनु भएको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाललाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको संस्कृति नै पाहुनाको स्वागत गर्ने भएकाले विदेशी पर्यटकको सत्कारका लागि सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

उहाँले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धनका लागि पहल गर्न पर्यटन क्षेत्रको भूमिका उल्लेखनीय हुने बताउनुभयो । ‘पर्यटनलाई ग्रामीण इलाकासम्म विस्तार गर्न र दीगो बनाउन महिलाको भूमिका महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो ।

नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन्स लिडरसिप फोरम र पर्यटन समितिले आयोजना गरेको कार्यक्रममा सचिव कोइरालाले नेपाली वस्तुको उत्पादन वृद्धि गरी प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आग्रह गर्नुभयो । ‘हामी सधैँ आयातित वस्तुमा भर पर्ने होइन, अब नेपाली वस्तु उत्पादन वृद्धि गरी स्वदेशी आवश्यकता परिपूर्ति गर्न र निर्यातका लागि पनि तयार रहन म निजी क्षेत्रलाई आग्रह गर्छु,’ उहाँले भन्नुभयो ।

सचिव कोइरालाले नेपाल उद्योग परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियानले स्वदेशी वस्तु उत्पादनमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दीगो आर्थिक विकासको आधारशीला तयार गर्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपालेको अर्थतन्त्रलाई गतिशील बनाउन पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थान आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्यको रूपमा रहेको जानकारी विश्व समुदायलाई दिन आवश्यक भएको बताउनुभयो । उहाँले विभिन्न देशले नेपाललाई ‘रेड लिस्ट’मा राखेको भन्दै त्यसलाई हटाउन परिसंघले पहल गर्ने उल्लेख गर्नुभयो ।

यसैगरी परिसंघको वुमन्स लिडरसिप फोरमकी सभापति छाँया शर्माले समस्यामा रहेको पर्यटन क्षेत्रलाई माथि उकास्न महिला उद्यमीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले महिलाहरूलाई सक्षम बनाउँदै उद्यमशील बनाउन सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

यसैगरी पर्यटन समितिकी सभापति पम्फा धमलाले सरकारले दिएका सुविधा वास्तविक लाभग्राहीले पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले उद्यमीले सरकारबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह