Logo

घुमफिर

संरक्षणसँगै पर्यटनसँग जोडिँदै जटायु रेष्टुरेण्ट



प्रकृतिको कुचिकार गिद्धको संरक्षणको उद्देश्यका साथ नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापित जटायु रेष्टुरेण्टलाई यतिखेर पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न लागिएको छ ।

गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियोे । लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिनुभयो ।

रेस्टुरेण्टको स्थापनासँगै गिद्धको सङ्ख्या बढेको जानकारी दिँदै उहाँले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताउनुभयो । विगत दुई दशकयता गिद्ध घट्ने क्रम बढिरहेको अनुसन्धानले देखाएको छ । गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेकजस्ता औषधिको प्रयोगका कारण पनि गिद्ध सङ्कटापन्न अवस्थामा पुगेको संरक्षणकर्मी बताउँछन् । पछिल्लो समयमा गाईवस्तु पाल्ने क्रम पनि अत्याधिक कम हुँदै गएको र मरेपछि विगतमा जस्तै फाल्ने क्रम पनि कम हुँदै जाँदा उनीहरूको आहारामा समस्या थपिने गरेको छ ।

अध्ययन अनुसार डाइक्लोफेनेककोे प्रयोग गरी उपचार गराइएका पशु मृत्यु भएपछि उक्त सिनो गिद्धले खाएमा मिर्गौलामा असर भई केही दिनमा नैै गिद्ध मर्ने गरेको छ । औषधि व्यवस्था विभागले डाइक्लोफेनेकलाई विसं २०६३ जेठ २३ देखि उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाइ त्यसको विकल्पमा गिद्धलगायत अरू पक्षी र वन्यजन्तुलाई असर नगर्ने प्रमाणित भएको मेलोक्सिक्याम औषधि बजारमा ल्याएको छ ।

विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन् । नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन् । हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन् । राज गिद्ध पाकिस्तान एवं किर्किस्तानबाट आउने गरेका छन् ।

सङ्ख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार, डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ । त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच/पाँच सयको सङ्ख्यामा पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको अध्ययनले देखाएको छ । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको संरक्षणकर्मी चौधरीको भनाइ छ ।

आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताउनुभयो । विगत १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने काममा आफू लागि रेहको बताउँदै नेपालीले यिनीहरूको संरक्षण पर्यावरण जोगाउननका लागि पनि आवश्यक भएको बताउनुभयो ।

विभिन्न अनुसन्धाता जटायु रेष्टुरेण्टमा पुगी गिद्धका क्रियाकलापको अवलोकन गर्ने गरेको बताउँदै उहाँले संरक्षणसँगै यो स्थललाई पर्यटनसँग जोड्ने प्रयास गरिएको बताउनुभयो । सिनो खाएर हैजा, रेबिजजस्ता रोग फैलन नदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा संरक्षण गर्नु जरुरी रहेको नेपालीको भनाइ छ ।

पछिल्ला समयमा गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा यस्ता रेष्टुरेण्ट स्थापना गरिएका छन् । नवलपरासीको जटायु रेष्टुरेण्टमा उमेर पुगेका र छाडा चैपायाको संरक्षण पनि गर्ने गरिएको छ । यहाँ राखिएको गौशालामा किसानबाट उमेर पुगेका, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गर्ने गरिएको छ । गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिने र त्यहाँ गिद्ध आएर खाने गर्दछन् । गिद्धको आनीबानी नजिकबाट लुकेर अवलोकन गर्नका लागि पर्यटक अवलोकन घर पनि बनाइएको उहाँले जानकारी दिनुभयो ।

नवलपरासीको जटायु रेष्टुरेण्टलाई पर्यापर्यटन एवं चरा पर्यटनमा रुची राख्नेका लागि जानै पर्ने गन्तव्यका रुपमा विकास गर्न सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो । नेपाल पर्यटन बोर्डले पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर स्वर्ण त्रिकोणको अवधारणाका साथ पर्यटन प्रवद्र्धन गर्न लागेको उल्लेख गर्दै उहाँले यस आसपासमा जोडिएका जटायु रेष्टुरेण्ट जस्ता धेरै गन्तव्यलाई समेट्न सकिने बताउनुभयो ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह