Logo

कृषि / सहकारी

व्यावसायिक गाईपालनबाट मनग्य आम्दानी


GDP नेपाल
   ६ पुस २०७८, मंगलबार


तम्घास ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोक लाहाटाका ३५ वर्षीया लुल्सिराम कुँवर सात वर्ष विदेश बस्नुभयो । उहाँले काजकिस्तान दुवैलगायतका देशमा खाना बनाउने काम गर्नुहुन्थ्यो । विदेशमा आम्दानी पनि राम्रै हुन्थ्यो तर चार वर्ष पहिले गाउँ आएका उहाँको मन फेरियो । यसपछि उहाँले घर नजिकै जग्गा किनेर व्यावसायिक गाईपालन सुरु गर्नुभयो ।

धनञ्जय कृषि तथा पशुपक्षी फार्ममार्फत चार वर्षअघि चार गाईबाट व्यवसाय सुरु गरेका उहाँका गोठमा अहिले १३ गाई छन् । ती मध्ये १० ठूला र तीन वटा साना छन् । त्योमध्ये पनि चार दुहुनु र तीन ब्याउने गाई छन् । उहाँले दुई जर्सी र ११ होलिस्टिन क्रस गाई पाल्नुभएको छ । गाईपालनका लागि उन्नत जातका घाँससमेत उहाँले लगाउनुभएको छ ।

एउटा गाईले औषतमा दैनिक १५ लिटरभन्दा बढी दूध दिने उहाँ बताउनुहुन्छ । सबै गाईको दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्ने उहाँले दैनिक ३० लिटरजति स्थानीय बजारमा खपत गर्ने र बाँकी ३० लिटर तम्घास पठाउनुहुन्छ । स्थानीय बजारमा प्रतिलिटर रु ७० मा बिक्री हुने दूध तम्घास पठाउँदा प्रतिलिटर ५४ रुपैयाँ पर्छ । “मासिक डेढदेखि दुई लाखसम्मको कारोबार हुन्छ, यसमा खर्च कटाउँदा पनि ४० हजार बचत हुन्छ”, उहाँले भन्नुभयो, “विदेशमा भन्दा कम बचत भए पनि सन्तुष्टि बढी छ ।” विदेशमा कमाएको रकम स्वदेशमा लगानी गर्नुभएका उहाँले व्यवसायमा सन्तुष्टि मिलेको बताउनुभयो ।

व्यावसायिक गाईपालन गरेबापत गाउँपालिकाले प्रदान गर्ने उत्पादनमा आधारित अनुदान प्रतिलिटर रु तीनका दरले प्राप्त गर्नुहुन्छ । त्यस्तै ०७५÷७६ मा कृषि, पशुपक्षी तथा मक्ष विकास निर्देशनालयबाट रु चार लाख प्राप्त गर्नुभयो । सोही ठाउँकै ४० वर्षीया कमल पोखरेलले पनि १८ वर्ष रोजगारीकै लागि विदेशमा कटाउनुभयो । १८ वर्षको हुँदा भारत जानुभएका उहाँ दुवै पनि पुग्नुभयो । त्यहाँ उहाँले खाना बनाउने र सफा गर्ने काम गर्नुहुन्थ्र्यो । विदेशमा मासिक रु ८० कमाउने पोखरेलको रु ६० हजार बचत हुन्थ्यो । दुई वर्षअघि गाउँ आउनुभएका पोखरेलले गाउँमै भविष्य खोज्नुभयो र गाईपालन व्यवसाय सुरु गर्नुभयो । करिब पाँच लाखको लागतमा १८ वटा गाई अट्ने संरचना बनाउनुभयो ।

यसपछि वसन्त पशु फार्म खोलेर छ ठूला गाई किनेर व्यवसाय सुरु गर्नुभएका व्यवसायी पोखरेलसँग अहिले सात ठूला गाई एवं तीन साना बाच्छा छन् । ती मध्ये पनि दुई दुहुने र पाँच ब्याउने छन् । अहिले दैनिक २० लिटर दूध उत्पादन भएको र सबै व्याउँदा ८० लिटरसम्म दुध उत्पादन हुने उहाँको भनाइ छ । अहिलेसम्म दैनिक ५५ लिटरसम्म दूध बिक्री गरेको र भविष्यमा दैनिक १०० लिटरसम्म दूध बिक्री गर्नेगरी योजना बनाएको उहाँले सुनाउनुभयो ।

गाईपालनबाट वार्षिक रु २४ लाखको कारोबार हुने कमलको भनाइ छ । “सबै जग्गा आफ्नै भएकाले व्यवसायमा सहजता मिल्यो”, उहाँले भन्नुभयो, “विदेशको भिसा त्यागेर गाईपालनमा लागेको हुँ, सोचेभन्दा बढी सन्तुष्टि मिलेको छ ।”

सडक, नियमित बिजुली र पानीको असुविधा

तुलसीराम र कमलले उत्पादन गरेको दूध गाउँपालिकाको केन्द्र बर्बोटमा रहेको देविस्थान उन्नत दुग्ध सहकारी संस्था लिमिटेडमार्फत बिक्री हुन्छ । उक्त संस्थाको व्यवस्थापकको जिम्मा उहाँले पाउनुभएको छ । उक्त केन्द्रमा अन्य व्यक्तिले आफ्नो चाहनाअनुसार दूध बेच्न र किन्न सक्ने उहाँको भनाइ छ ।

गाईलाई दानाका लागि सहज ढुवानी एवं दूध बजारसम्म लैजान मोटरबाटो सहज बनाइदिन तुलसीरामले आग्रह गर्नुभयो । सडकमा नाली नहुँदा एकपटक पानी आए बिग्रिने र त्यसपछि दूध लैजान तथा दाना ल्याउन अप्ठ्यारो पर्ने उहाँले बताउनुभयो ।

गत जेठ र असारमा सडक बिग्रँदा २५ दिनजति दूध बेच्न नपाएको र त्यसबाट एक लाख २० हजार घाटा लागेको उहाँको भनाइ छ । “बाटो बिग्रेको पालिकालाई जानकारी गराउँदा पालिकाले सकेसम्म छिटै समाधान गर्ने प्रयास त गर्छ”, उहाँले भन्नुभयो, “नाली नहुँदा थप समस्या छ ।” त्यसका साथै स्थानीय बजारमै दूध खपतको व्यवस्था, नियमित बिजुली, सिँचाइका लागि पानी एवं नगद अनुदानको सट्टा दाना, मल र बीउमा अनुदान दिएमा दूध उत्पादनमा वृद्धि गर्न सकिने कुँवरको भनाइ छ ।

अर्का कृषक कमल पोखरेलले पालिकाकोतर्फबाट नियमित अनुगमन भएमा पनि आफूजस्ता कृषकलाई हौसला मिल्ने बताउनुभयो । “फार्म वरिपरि जाली आवश्यकता छ, पालिकामा निवेदन दिएको छु”, उहाँले भन्नुभयो, “पालिकाका जनप्रतिनिधि र कर्मचारी फार्ममा आई सल्लाह सुझाव दिए पनि हौसला मिल्ने थियो ।”

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विदेशको आम्दानी स्वदेशमै लगानी गरेकामा आफूखुसी भएको बताउनुभयो ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह