Logo

घुमफिर

बन्दीपुरमा अङ्ग्रेजी नयाँ वर्षमा खाना महोत्सव


GDP नेपाल
   १४ पुस २०७८, बुधबार


अङ्ग्रेजी नयाँ वर्षको अवसरमा तनहुँका विभिन्न ठाउँमा साङ्गीतिक कार्यक्रम हुने भएको छ । बन्दीपुर र दमौलीमा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा खाना महोत्सवका साथै साङ्गीतिक कार्यक्रम हुन लागेको हो ।

पर्यटकीय नगरी बन्दीपुरमा दुई दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ र उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा यही पुस १६ र १८ गते खाना महोत्सव गर्न लागिएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि स्थानीय खानाका परिकारको कक्ष रहनेछ । महोत्सवले बन्दीपुरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले बताउनुभयो । “महोत्सवले बन्दीपुर आउने पर्यटक बढाउने अपेक्षा राखिएको छ, दुई दिने महोत्सवमा मात्र कम्तीमा सात हजार पर्यटक भित्र्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

कोभिड–१९ को मारमा परेका होटल व्यवसायीलाई सडक खाना महोत्सवले केही राहत पुग्ने आशा गरिएको होटल व्यवसायी वैश गुरुङले बताउनुभयो । “कोभिड त्रासका कारण बन्दीपुरको पर्यटन व्यवसाय प्रभावित बन्दै आएको छ, अहिले सबैले खोप लगाइसकेका कारण नयाँ वर्षमा बन्दीपुरमा आन्तरिक पर्यटक बढी भित्रिनेमा आशावादी छौँ”, गुरुङले भन्नुभयो ।

नयाँ वर्षकै अवसरमा लायन्स क्लब अफ तनहुँ दमौलीले पुस १६ गते साङ्गीतिक कार्यक्रम गर्न लागेको छ । क्लबकै सक्रियतामा स्थापना गरिएको कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजु रानाले बताउनुभयो । नयाँ वर्ष मनाउन पोखरा वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि दमौलीमै कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत वर्ष कपडा बैंक स्थापना गरिएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परेको छ । “कपडा बैंकलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गितिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ”, उहाँले भन्नुभयो ।

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ ।

नयाँ वर्षकै अवसरमा व्यास नगरपालिका–१ स्थित नवयुवा क्लवले हाइस्कूलटारमा सांस्कृतिक मेला आयोजना गर्दैछ । पुस १५ गतेदेखि सुरु हुने मेला १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा ख्यातिप्राप्त कलाकारको प्रस्तुती, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, रमाइलो मेला, स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शनी, वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सनम तामाङले जानकारी दिनुभयो ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह