Logo

Sub-banner

प्रम देउवाद्वारा धरानमा फोहोर प्रशोधन केन्द्रको उद्घाटन


GDP नेपाल
   २० पुस २०७८, मंगलबार


फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ का भौतिक योजना तथा निर्माण मन्त्री हिमाल कार्की, धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, उपप्रमुख तथा नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीलगायत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भेन्चर वेष्ट टू इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको हो । धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य लिएर उक्त केन्द्र निर्माण गरिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले जानकारी दिनुभयो । २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी ५० मेट्रिन टन क्षमताको प्रशोधन केन्द्र निर्माण भएको छ । यसमा उपमहानगरको कुनै पनि लगानी छैन ।

प्रशोधनका लागि प्लान्ट एउटै भए पनि चेम्बर फरक फरक छन् । १० टनमा तीनवटा चेम्बर छ । जम्मा १५ वटा चेम्बर छन् । प्रशोधन केन्द्रबाट उत्पादन भएको ग्यास धरानमा चलिरहेका टेम्पोहरुमा प्रयोग हुने बताइएको छ । प्रशोधन केन्द्रले दैनिक दुई हजार केजी ग्यास उत्पादन गर्ने क्षमता रहेको सञ्चालकले जनाएका छन् । दैनिकजसो ४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध गराउन सक्ने क्षमता रहेको छ ।

कम्पनीले पानवारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको हो । सम्झौताअनुसार प्रालिले २० वर्षपछि प्रशोधन केन्द्रको सम्पूर्ण सम्पत्ति उपमहानगरलाई हस्तान्तरण गर्नुपर्नेछ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिनुभयो ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह