Logo

Banner-news

अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री


GDP नेपाल
   २८ चैत्र २०७८, सोमबार


अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयो, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।”

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो ।

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उहाँको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

कानूनसम्मत गभर्नरमाथि छानबिन

अर्थमन्त्री जनार्दन शर्माले कानुन सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताउनुभयो । उहाँले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गर्नुभयो । गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको उहाँको भनाइ छ । निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीको भनाइ छ । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उहाँको भनाइ छ ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह