Logo

Banner-news

वैशाख ८ गतेदेखि सञ्चालनमा आउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


निर्माण कार्य सम्पन्न भई व्यावसायिीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ ।

यसैगरी मन्त्री आलेले कोरोना सङ्क्रमण दर निकै कम भएको र जोखिम पनि घटेकाले अब विमानस्थलको सेवा २४सै घण्टा सञ्चालन गराउनसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।

पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अब तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीवकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले सो विमानस्थलमा आन्तरिक उडान सुरु गर्नेछन् । अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि सुरु हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी अर्को ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम पनि लगभग सकिएको तथा आगामी दसैँसम्ममा उक्त विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान गर्ने गरी काम सुरु भएको बताइएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नजिकै रहेको ल्याण्डफिल्ड साइट हटाउने कार्य र पूर्वतिरको रिट्ठेपानी डाँडा कटानको काम मात्र बाँकी रहेकाले उक्त काम सकिएलगत्तै अन्तर्राष्ट्रिय उडान सुरु गरिने महानिर्देशक अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अबको १५ देखि २० दिनभित्रमा रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्नेछौँ र कटान दुई महिनामा सक्ने लक्ष्य राखेका छौँ ।” नेपालमा कोरोना भाइरस करिबकरिब अन्त हुँदै गएपछि हवाई उडानको चाप बढेसँगै अब प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह