Logo

Banner-news

एफएनसीसीआई र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने सहमती


GDP नेपाल
   १५ बैशाख २०७९, बिहिबार


मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) र नेपाल पर्यटन बोर्ड बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पछि दुवै संस्थाहरु पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने छन् ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. धनन्जय रेग्मीले आज महासंघ सचिवालयमा हस्ताक्षर गर्नुभयो । यसका लागि महासंघको पर्यटन विकास समितिले विशेष भूमिका निर्वाह गरेको थियो ।
आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहर को अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयां दिशा दिन यो सहमती कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिवद्धता पनि जनाउनुु भयो । कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसंग आवद्ध सवै संस्थाहरूको सहभागितामा छिट्टै एउटा वृहद कार्यक्रम आयोजनाको प्रस्ताव पनि गर्नुभयो । कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा उहांको जोड थियो ।

पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुुभयो । अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुपर्नेमा जोड दिंदै भन्नुुभयो–यो सम्भव पनि छ । यसका लागि सरकारको सहयोग आवश्यक छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने सुुझाव अध्यक्षको थियो । काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने धारणा उहांको थियो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताउनुु भयो ।

वोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । पर्यटन विकासमा महासंघका अध्यक्षले राख्नुभएका सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाउनुु भयो ।

पर्यटनसंग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन उहांले आग्रह गर्नुभयो । सो अवसरमा दुवै जनाले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुु पर्नेमा जोड दिनुु भयो । महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताउनुु भयो । महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले धन्यवाद मन्तव्य दिंदै समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिवद्धता जनाउनुु भयो ।

सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

 

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह