Logo

घुमफिर

सगरमाथा आरोहण सुरु : कामीरिताको २६ औं पटक आरोहणको कीर्तिमान


GDP नेपाल
   २५ बैशाख २०७९, आइतबार


यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोड्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ । विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि शुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिनुभयो ।

“सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहण सुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरेर कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले प्रक्रिया पु¥याएर फेरिभाई गरेपछि मात्रै घोषणा गर्छौ”, उहाँले भन्नुभयो । निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताउनुभयो । सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ । अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेको हो । शनिबार साँझ ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए । अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ । यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन् ।

अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ । नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि उत्साह थपिएको बताउनुभयो ।

“अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो, पर्वतारोही विस्तारै बढिरहेका छन्”, उहाँले भन्नुभयो । वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ । मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोही ४०० हाराहारी थिए ।

एकिन तथ्याङ्क नभए पनि हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ । अहिलेसम्म कामीरिताले सगरमाथाको २६ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएको छ । सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि मात्रै आफ्नो कम्पनीबाट १५० आरोही गन्तव्यमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले आरोहण सुखद हुने विश्वास छ । वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको छ ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मे ४ सम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३९ आरोही समूह रहेका छन । त्यस्तै अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि सात समूहले अनुमति लिएको छ । त्यस्तै अन्नपूर्ण (८०९१ मि०) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा १३ आरोही समूहले आरोहण अनुमति लिएका छन् । हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४७ करोड ९२ लाख रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह