Logo

Sub-banner

कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने


GDP नेपाल
   ४ जेष्ठ २०७९, बुधबार


कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दसैँ अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य सहायक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् ।

दसैँअघि पूर्णरुपमा सञ्चालनमा आउने गरी बसपार्कको संरचना निर्माण कार्य भइरहेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, बसपार्कको टर्मिनल भवन रङ्गरोगन गर्न बाहेक अरु काम आंशिक रुपमा सम्पन्न भएको छ । लामो दूरीका बस छुट्ने गरी निर्माण गरिएको सो बसपार्कभित्र अत्याधुनिक शौचालय, स्वास्थ्य जाँचको व्यवस्था र प्रहरीको युनिटसमेत रहने छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले आप्mनो कार्यकालका लागि बसपार्क निर्माण निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नगरपालिकाको यथेष्ट बजेट नभए पनि कोहलपुर नगरविकास समितिको ऋण सहयोगले समयमै बसपार्क निर्माण गर्न सकिएको उल्लेख गर्नुभयो ।

कोहलपुरमा अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामोदूरीमा सञ्चालन हुने बसको लागि कोहलपुर चौराह नजिकै नेपालकै नमूना अत्याधुनिक बसपार्क निर्माण थालिएको हो । उहाँका अनुसार, २०७७ फागुन २४ गते रु २७ करोड ८४ लाख ६६ हजारमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको हो । बसपार्क निर्माणको लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट रकम विनियोजन गरिएको छ । पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको छ ।

निर्माण व्यवसायी टेकबहादुर खडकाले तोकिएको सम्झौता अवधि अगावै उक्त बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिने बताउनुभयो । उहाँका अनुसार, अत्याधुनिक कोहलपुर बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्स सहितको हुनेछ । पाँच तलाको सपिङ् कम्प्लेक्ससहितको निर्माणाधीन कोहलपुर बसपार्क नेपालकै अत्याधुनिक बसपार्क हुने कोहलपुर नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनियर बालकृष्ण महतराले बताउनुभयो । अहिलेसम्म निर्माण कार्य प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

कोहलपुर बसपार्कलाई नगरपालिकाले गौरवको योजनाका रुपमा अगाडि सारेको कार्यपालिका सदस्य एवं आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताउनुभयो । बसपार्क निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिलेसमेत आवश्यक अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको उहाँको भनाइ छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह