Logo

घुमफिर

गड्डाचौकी भएर आउने विदेशी पर्यटकको सङ्ख्या न्यून, पाँच महिनामा ९५ पर्यटक भित्रिए


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२२ को पाँच महिनामा ९५ जना विदेशी पर्यटक भित्रिएका छन् । कोरोना महामारीका कारण सीमानाका हुँदै आउने पर्यटकको सङ्ख्या घटेको हो । अध्यागमन कार्यालय गड्डाचौकीका सूचना अधिकारी पदमराज भट्टका अनुसार जनवरीमा १७, फेबु्रअरीमा ७, मार्चमा २९, अप्रिलमा २२ र मेमा २२ जना पर्यटक सीमानाका भएर भित्रिएका छन् ।

सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या भने शुन्य रहेको छ । “नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकतोक गरेको छैन । नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बरदेखि हालसम्म जान दिएको छैन । केन्द्रबाटै केही सीमा नाका मात्रै भारततर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्”, उहाँले भन्नुभयो ।

गत वर्षको यही अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको सङ्ख्या भने शुन्य रहेको थियो । कोरोनाको सङ्क्रमण घटेसँगै विस्तारै विदेशी पर्यटक सीमानाका हुँदै आउन थालेका छन् ।

सीमा नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएका रहेका छन् । “भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोड्नुपर्ने नियम रहेको छ”, सूचना अधिकारी भट्टले भन्नुभयो, “ती विदेशी पर्यटक छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन् । पुनःभारत फर्कनका लागि उनीहरुले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन् ।”

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनको भिसा लगाउने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिइने गरेको छ । जसका लागि भिसा शुःल्क ३० डलर लाग्ने गर्दछ । ३० दिनको भिसाका लागि ५० डलर र ९० दिनको भिसाका लागि १२५ डलर शुःल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य रहेको थियो । अगष्टदेखि डिसेम्बर सम्म ५८ जना पर्यटक मात्रै भित्रिएका थिए । सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए ।

सन् २०२० को जनवरीदेखि मार्च महिनासम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए । अप्रिलदेखि सेप्टेम्बर महिनासम्म सीमा नाका हँुदै आउने पर्यटकको सङ्ख्या शुन्य रहेको थियो ।

अक्टुवर महिना मात्रै दुई जना विदेशी पर्यटक भित्रिएका थिए । नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो । सन् २०२० मा सीमा नाका हुदै ५१९ पर्यटक बाहिरिएका थिए । सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए । सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र दुई हजार २२२ पर्यटक बाहिरिएका थिए ।

यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए । सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए । “विदेशी पर्यटकहरुले सीमा प्रवेश गरेपछि सम्पुर्ण विवरण सहितको फाराम भर्नु पर्ने हुन्छ । आवेदन दिनु पर्छ” सुचना अधिकारी भट्टले भन्नु भयो, “कोरोना विरुद्धको दुई वटा खोप अनिवार्य लगाएको हुनुपर्छ । त्यस पछि मात्रै सीमा प्रवेश अनुमती दिइने गरेको छ । धेरैले फाराम भर्न जान्दैनन् । हामीले फाराम भर्न सघाउने गरेका छौं ।”

विदेशी पर्यटकसँग नगद रकम नभइ कार्ड मात्रै हुने गर्दछ । कार्ड स्वाइप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनी चेन्जरमा विदेशी पैशाको कारोवार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको उहाँले उल्लेख गर्नुभयो । अध्यागमन कार्यालय लामो समय देखि भाडाको घरमा सञ्चालन हुदै आएको छ । कार्यालयको अफनो स्वामित्व जग्गा र घर नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीले २४ सै घण्टा सेवा दिँदै आएपनि अतिरिक्त सुविधा भने पाउने गरेका छैनन् ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह