Logo

Sub-banner

जामुने–कोत्रेका संरचना हटाउन मुआब्जा वितरण


GDP नेपाल
   २३ असार २०७९, बिहिबार


मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेसम्मका संरचना हटाउन रु दुई करोड ४५ लाख ३९ हजार ६३३ मुआब्जा वितरण गरिने भएको छ ।

सडक विस्तार योजना अन्तर्गत पश्चिम खण्डको जामुनेदेखि कोत्रेसम्मका व्यक्तिगत तथा सार्वजनिक घर टहरा, पर्खाल लगायतका संरचना हटाउन उक्त मुआब्जा वितरण गर्न लागिएको हो । सडक मापदण्ड २५/२५ मिटर दायाँबायाँको क्षेत्रभित्र निर्माण गरिएका व्यक्तिगत तथा सार्वजनिक घरटहरा, पर्खाललगायतका संरचना हटाउनका लागि आयोजना प्रभावितलाई क्षतिपूर्तिबापत मुआब्जा वितरण गर्न लागिएको जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजकत्वमा गठित उपसमितिले म्याग्दे गाउँपलिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्मका १३८ वटा संरचनाको क्षतिपूर्ति रकम वितरण गर्ने निर्णय गरेको छ । एसियाली विकास बैंकको ‘सेफगार्ड पोलिसी स्टेटमेन्ट’ अनुसार आयोजना प्रभावितलाई क्षतिपूर्ति रकम दिएर मात्र हटाउनुपर्ने व्यवस्था भएकाले मुआब्जा वितरण गर्न लागिएको आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

योजनाले गत असार १९ गते सूचना प्रकाशित गरी संरचना धनीहरुलाई सम्बन्धित पालिकाका वडा कार्यालयको सक्कल सिफारिस पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, बैंक खाता नम्बर र हालसालै खिचेको फोटो निवेदनमा टाँस गरी कार्यालयमा सम्पर्क राख्न आउन अनुरोध गरेको छ ।

घर टहरा आदिको लागि क्षतिपूर्ति रकममध्ये आधा रकम पहिलो किस्तास्वरुप लिई पहिलो किस्ताबापतको क्षतिपूर्ति रकम बुझेको मितिले एक महिनाभित्र सम्पूर्ण संरचना हटाई सो को पुष्टि गरेपछि थप रकम भुक्तानी गरिने जनाइएको छ । आयोजना कार्यान्वयनमा आइपर्ने गुनासोको सुनुवाइ गर्नका लागि आयोजनाको दस्तावेज ९पुर्नवास योजना० बमोजिम कार्य गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरिएको छ ।

समितिको सदस्यमा आयोजना प्रमुख, शुक्लागण्डकी नगरपालिकाका प्रतिनिधि, म्याग्दे गाउँपालिकाका प्रतिनिधि, आयोजनाको परामर्शदाताका वातावरण विज्ञ र सामाजिक विज्ञ रहनुभएको छ । मुग्लिन–पोखरा राजमार्गलाई चार लेनको बनाउन तनहुँमा दुई खण्ड विभाजन गरी कामलाई अगाडि बढाइएको छ । पश्चिम (जामुने–पोखरा) खण्डको ठेक्का यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सन कम्पनीले पाएको छ । उक्त कम्पनीले अहिले सडक फराकिलो बनाउने काम गरिरहेको छ । आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेतर्फ पनि सडक चौडा बनाउने काम भइरहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

सडक विस्तार कार्यका लागि राजमार्ग आसपासका रुख काटिएको छ । हालसम्म पूर्वी खण्डमा तीन हजार १४ रुख कटान भइसकेका छन् भने पश्चिम खण्डमा दुई हजार २८० रुख कटान भइसकेको छ । विसं २०२६मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । ८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।

पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाईन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ ।

दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाई ४६ मिटरको हुनेछ । सडक चार लेनको बन्दा अहिले भएका पुलको ठाउँमा नयाँ पुल बन्नेछ । आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण हुनेछ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको आठ किलोमिटर दूरीको भने डिजाइन् हुँदैछ ।

यो खण्डमा हाल पृथ्वीराजमार्गको भएको स्थानमा मस्र्याङ्दी जलविद्युत् गृह रहेको छ । जलविद्युत् गृह र सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखाङ्कन नै परिवर्तन गर्नुपरेको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारले मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि रु चार अर्ब ४३ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक वर्षमा रु दुई अर्ब नौ करोड ५४ लाख ४ हजार विनियोजन भएको थियो ।

प्रकाशित : २३ असार २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह