Logo

कृषि / सहकारी

सुन्तला उत्पादन बढ्ने


GDP नेपाल
   २५ आश्विन २०७९, मंगलबार


व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् ।

यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताउनुभयो । गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उहाँको भनाइ छ ।

“मौसमी अनुकूलताले उत्पादन दोब्बर हुने अपेक्षा छ”, अध्यक्ष कुवँरले भन्नुभयो, “कतिपय कृषकले पाँच लाखभन्दा बढीका सुन्तला बेच्नु हुनेछ । अर्का कृषक तोयराज कुँवर भन्नुहुन्छ, “यो वर्ष राम्रो फल दिएको छ, अब असोजको झरीले असर नगरेमा उत्पादन राम्रो लिनसक्ने आशमा छु”, उहाँले भन्नुभयो ।

परम्परागत तरिकाले मकै र कोदो लगाउने बारीमा सुन्तलाखेती सुरु गरेपछि यहाँका दुई सयभन्दा बढी परिवार खुसी छन् । उपल्लो श्रीकाङ, सात्ले, सुलिकोट मात्रै होइन छिमेकी कुर्घाको ठूलास्वाँरा, नुवाखर्कलगायतका क्षेत्रलाई समेटेर सुन्तला उत्पादनको पकेट ब्लक क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । हरेक वर्ष खेती बिस्तारको काम भइरहेको छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ । गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत बेचबिखन गर्न थालेपछि देशका मुख्य मुख्य सहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौँ, बुटवल, विराटनगरलगायतका व्यापरीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताउनुभयो ।

फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्नसकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुनसके ढुवानीका लागि अझै सहज हुने उहाँको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिनुभयो ।

प्रकाशित : २५ आश्विन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह