Logo

घुमफिर

बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा


GDP नेपाल
   १४ मंसिर २०७९, बुधबार


संरक्षण र सम्वद्र्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्न थालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन । “पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि वृहत परियोजना निर्माण गर्नुपर्छ”, नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले रासससँग भन्नुभयो ।

उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको छ भन्नुभयो । उहाँले पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताउनुभयो । यहाँका राप्तीसोनारी, बैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रको रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना प्रचुर भएपनि त्यस्तो सोचको विकास हुन सकेको छैन भन्नुभयो । केही होम स्टे र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिएको उहाँको भनाइ थियो ।

राप्ती नदीमा र्‍याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास र बैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताइएको छ । त्यस्तै, बाँके राष्टिय निकुञ्जलाई हात्ती सफारी, चारसिङ्गे मृगको बासस्थान रहेको क्षेत्र र पदयात्रा रुपमा विकास गर्न सकिने, यहाँ रहेका विभिन्न तालतलैयालाई ‘फिसिङ्’क्षेत्रका रुपमा विकास गरेर पर्यटकीय आर्कषण बढाउन सकिने प्रचुर सम्भावना देखिएको छ ।

यस बाहेक नेपालगञ्जमा रहेको महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, मिनी जु, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्धारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात मानिन्छ । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष सिग्देलले पर्यटनलाई राज्यले कम प्राथमिकतामा राखेको गुनासो गर्नुभयो । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि छुट्टा्याउने बजेट न्युन भएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ,“यहाँ गोहीको पनि बासस्थान छ, त्यसलाई खास पकेट क्षेत्र बनाएर त्यसमा पर्यटक वढाउन सकिन्छ ।”

पर्यटनको विकासका लागि लगानी भित्रिनुपर्छ । पर्यटनमैत्री वातावरण निर्माण हुनुपर्छ । “यसले पर्यटनको क्षेत्रमा कायापलट गर्न सकिन्छ”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिनुहुन्छ । उहाँले निकुञ्जलाई हात्तीसफारी, चार सिङ्गे मृग, बाघ लगायतका अन्य जन्तुकोसमेत बास्स्थान भएको क्षेत्रका रुपमा प्रचार गर्न सके यसले पर्यटकीय आर्कषण बढनसक्ने बताउनुभयो ।

नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्णस्थलका रुपमासमेत विकास गर्न सकिने उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ, “यसक्षेत्रमा करिब आठ क्यासिनो, दुई पाँच तारे र १२ चार तारे होटेल छन् यसले यहाँको पर्यटन पवद्र्धन गर्न सहयोग गर्छ ।” यहाँ होटेलमा आउने अधिकांश भारतीय पर्यटक हुन ।

भारतको उत्तराखण्ड, उत्तरप्रदेश र विहारबाट धेरै पर्यटक नेपाल आउछन् । यस बाहेक आन्तरिक पर्यटकको समेत चहलपहल हुन्छ । बाँकेको निर्वाचन क्षेत्र नं ३ को ९१० बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले बैजानथा गाउँपालिकाको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नीति र योजना अघि ल्याउन गृहकार्य भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा जैविक पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकिन्छ ।”

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह