Logo

घुमफिर

आन्तरिक पर्यटकको रोजाइमा गाजीपुर मदनस्मृति पार्क


GDP नेपाल
   १९ मंसिर २०७९, सोमबार


चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुरमा रहेको मदनस्मृति पार्क आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लगायतका भौतिक संरचना निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।

नारायणी नदी किनारसँगै रहेको यो पार्क जननेता मदन भण्डारीको स्मृतिमा निर्माण गरिएको हो । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा पर्नुभएका भण्डारीको शव यही ठाउँमा फेला परेको थियो । यहाँ नेता भण्डारीको अर्धकदको शालिक बनाइएको छ । पार्कमा चितवन र नवलपुरसँगै नारायणी र चितवन राष्ट्रिय निकुञ्जको दृश्यावलोकन गर्नका लागि स्तम्भ निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गौरस तामाङले जानकारी दिनुभयो ।

उहाँले नारायणीको बाढी र कटानले सधैँ दुःख दिइरहने तटीय क्षेत्रलाई अहिले पार्कका रुपमा विकास गरिएको बताउनुभयो । पार्कमा भ्यू टावरसँगै तीन प्रतिक्षालय, पार्कका विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यूटावरको संरक्षणका लागि पर्खाल, गेट र उक्त क्षेत्रमा हिँडडुल गर्न मोज्याक टायल र आकर्षक रङ्गिन बत्ती लगायतका संरचना निर्माण गरिएको छ ।

पार्कमा आन्तरिक पर्यटक बढ्न थालेपछि नजिकै चार/पाँच रेष्टुरेन्ट र पसलसमेत सञ्चालनमा आएका छन् । बाटोको दुवैतिर र भ्यू टावरमा राखिएका रङ्गीन लाइटले पार्कलाई थप मनमोहक बनाएको तामाङले बताउनुभयो । साँझको समयमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने भन्दै पार्कलाई थप आकर्षक बनाउन हिँड्ने बाटोमा रेलिङ र विभिन्न प्रकारका बिरूवा रोपेर हरियाली बनाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

मदन भण्डारीको स्मृतिलाई जीवन्त बनाउन त्यहाँ त्यसबेला जुन अवस्थामा शव देखिएको थियो त्यसैको झल्को दिने गरेर संरचना बनाउने योजना रहेको अध्यक्ष तामाङले बताउनुभयो । झोलुङ्गे पुलबाट प्रतिमूर्तिसम्म पुगेर अवलोकन गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना रहेको भन्दै उहाँले गाजीपुर क्षेत्रमा मदन भण्डारी स्मृति पार्क, ‘बायोडाइभर्सिटी’ अनुसन्धान केन्द्र बन्ने जानकारी दिनुभयो ।

यहाँ सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेर काम भइरएको छ । पार्कलाई थप विस्तार गर्ने तयारी गरिएको छ । दासढुङ्गादेखि चितवनको पश्चिमी अन्तिम बिन्दु गोलाघाटसम्म नदीकिनारको क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई समेटेर एकीकृत विकास योजना अगाडि बढाइएको पार्क निर्माण उपभोक्ता समितिका सदस्य टुकमान गुरूङ बताउनुहुन्छ ।

“अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै काम हुन बाँकी नै छ, सबै संरचना निर्माण भएपछि यो नमूना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ”, उहाँले भन्नुभयो । मझुवा सामुदायिक वन र दियालो सामुदायिक वन तथा कालाबञ्जर मध्यवर्ती क्षेत्रको नजिक रहेको यस क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना छ । यस क्षेत्रको संरक्षण गरी हिउँदमा देखिने साइबेरियन हाँस, कर्‍याङकुरूङलगायत धेरै किसिमका चरा, एकसिङ्गे गैँडा तथा गोहीको बासस्थानका रुपमा विकास गर्न सकिने र पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना छ

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह