Logo

घुमफिर

ताप्ली पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढे


GDP नेपाल
   २० मंसिर २०७९, मंगलबार


उदयपुरको ताप्ली गाउँपालिकाको ताप्ली पोखरीमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मौसम सुधार भएसँगै कात्तिकको पहिलो हप्तादेखि आन्तरिक पर्यटकको सङ्ख्यामा बढ्न थालेको ताप्ली-५ का विष्णुबहादुर तामाङले बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकहरु पोखरी भ्रमण तथा पञ्चकन्या मन्दिरको दर्शन गर्न आउने गरेका छन् । यो जिल्लाको रौता पोखरीपछिको दोस्रो महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य हो । पछिल्लो समय यस क्षेत्रमा बनभोजका लागि पनि समूहहरु आउन थालेको स्थानीय कृष्ण परियारको भनाइ छ ।

किंवदन्तीअनुसार चारसय सय वर्षअघि पोखरी क्षेत्रमा ठूलो जङ्गल र चाँैरीहरु थिए । एक दिन एकजना गोठालेले जङ्गलमा पाँच जना बालिकाहरु खेल्दै गरेको तर नजिक जाँदा अलप भएको घटना गाउँलेहरुलाई बताएका थिए । त्यसको भोलिपल्ट उक्त स्थानमा जाँदा पोखरी उत्पत्ति भएको स्थानीय डम्बर परियारको भनाइ छ ।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकका अनुुसार ताप्ली पोखरी क्षेत्र पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । पोखरीको लम्बाइ तीन सय मिटर र चौडाइ ७० मिटर छ । पोखरी आसपासमा ठूला–ठूला रूख भए पनि पोखरीमा झरेका पात चराहरुले टिपेर सफा गर्ने गरेका छन् ।

ताप्ली पञ्चकन्या देवीको दर्शन गर्दा मनोकामना पुग्ने जनविश्वास छ । अहिले गाउँपालिकाको पहलमा ताप्लीमा मोटरबाटो पुगेपछि कटारी, गाईघाट, सप्तरी, सिरहा, धनुषा र सिन्धुली क्षेत्रबाट समेत दैनिक ठूलो सङ्ख्यामा पर्यटकहरु आउने गरेको गाउँपालिकाका पूर्वउपाध्यक्ष कमला राईले बताउनुभयो ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि ताप्ली क्षेत्रलाई गुरुयोजना नै बनाएर अघि बढाइएको गाउँपालिकाका अध्यक्ष विकले बताउनुभयो । यस क्षेत्रमा हाल विद्युत् विस्तार र भ्यू टावर निर्माण भइरहेको छ ।

यस क्षेत्रमा प्रत्येक वर्ष कात्तिकदेखि वैशाखसम्म ५० हजारभन्दा धेरै पर्यटकहरुको आगमन हुने हुनाले यस क्षेत्रको पर्यटन विकास र प्रवर्द्धनमा प्रदेश सरकार र सङ्घीय सरकारसँग गुरुयोजनाका लागि बजेट माग गरिएको पूर्वप्रदेश सभासद् कला घलेले बताउनुभयो ।

प्रकाशित : २० मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह