Logo

घुमफिर

पर्यटकीयस्थल वसन्तापखोर जोड्न पदमार्ग निर्माण


GDP नेपाल
   २० माघ २०७९, शुक्रबार


बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीयस्थल वसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण थालेको छ ।

गाउँपालिकाले वडा नं ४ चापोट जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोरसम्म पदमार्ग निर्माण सुरु गरेको हो ।

धेरै सम्भावना भएको ठाउँ भए पनि वर्षौंदेखि प्रचारप्रसार नहुँदा ओझेलमा परेको वसन्तापखोरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न पालिकाले यस वर्ष बजेट व्यवस्थापन गरेर पदमार्ग निर्माण थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताउनुभयो ।

उपाध्यक्ष थापा भन्नुहुन्छ, “पदमार्गले दुई वटा गन्तव्यलाई जोड्ने छ । तल जनजाति सङ्ग्रहालय छ, शिरमा वसन्तापखोर छ, यसले संस्कृति र पर्यटकीय गन्तव्यलाई जोड्ने हुँदा भविष्यमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिनेछ, अहिले पदमार्ग निर्माणको सुरुआती चरणमा छौँ, निरन्तर बजेट व्यस्थापन गर्दै जाने र पदमार्गलाई पूर्णता दिनेछौँ ।”

यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रू दुई लाख बाट पदमार्ग निर्माण थालिएको काठेखोला गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण पुनले जानकारी दिनुभयो । पुनका अनुसार यस वर्ष करिब दुई समय मिटर ढलानसहितको पदमार्ग निर्माण गरिनेछ ।

“यस वर्ष बजेट थोरै थियो, धेरै काम गर्न नसके पनि सुरुआत गरेका छौँ, केही वर्षमा यसले पूर्णता पाउँछ, पदमार्ग निर्माणपछि वसन्तापखोरसम्म पुग्न सहज हुने र यसले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

गाउँमा साँघुरो गोरेटो हुँदा स्थानीय तथा बालबालिका जोखिम मोलेर हिँड्ने गरेको भन्दै पदमार्ग निर्माणपछि पदयात्रा सहज हुने उहाँको भनाइ छ ।

जनजाति सङ्ग्रहालयदेखि वसन्तापखोर करिब १२ सय मिटरको दूरीमा पर्दछ । वसन्तापखोर उच्च पहाडमा पर्ने हुँदा यहाँबाट दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्नुका साथै बागलुङलगायतका धेरै ठाउँ यहाँबाट देख्न सकिन्छ ।

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह