Logo

Uncategorized

लगानी सम्मेलनमा अर्थमन्त्री भर्सेस उद्योगमन्त्रीः कसरी आउला लगानी ?


GDP Nepal
   १६ चैत्र २०७५, शनिबार


काठमाडौं । लगानी सम्मेलन भव्यताका साथ चलिरहेका बेला विभागीय मन्त्री भने पटक्कै सन्तुष्ट छैनन् । सम्मेलनको आयोजकमा नाम राखिए पनि आफू र आफ्नो मन्त्रालयलाई भूमिकाविहीन बनाइएको भन्दै रुष्ट रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका गतिविधि अहिले चर्चामा छन् ।

लगानी सम्मेलनसम्बन्धी प्रेस मिटमा अनुपस्थित रहनु, सम्मेलनको उदघाटनस्थल छाडेर हिँड्नु तथा सम्मेलनमा टोकन अफ लभ लिन अस्वीकार गर्नुमात्र नभइ औद्योगिक व्यवसायसम्बन्धी एक ऐनमा प्रधानमन्त्रीसँगै विवादमा छन् मन्त्री यादव ।
कुनै समय अराजक भनेर नाम कमाएका मन्त्री यादव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग क्याविनेटमै चर्काचर्की गरेर तथा ललितपुरका तत्कालीन एलडीओ डुन्डुराज घिमिरेलाई कार्यकक्षमै थुनेर चर्चामा थिए ।

मन्त्री यादवको त्यो शैलीमा केही शिथिलता देखिए पनि अहिले उद्योगी व्यवसायीलाई तर्साउने, अनावश्यक स्थानमा छापा हान्ने तथा व्यवसायीप्रति अस्वाभाविक टिप्पणी गर्नेजस्ता कामका कारण निजी क्षेत्र पनि सन्तुष्ट छैन ।

लगानी सम्मेलन चलिरहेका बेला उद्योगमन्त्री रुष्ट हुनुको कारण हुन्– अर्थमन्त्री । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेका कारण मन्त्री खतिवडा सर्वत्र हावी छन् तर त्यसको ठिक विपरीत यादव भने छायाँमा छन्, भूमिकाविहीन बनाइएका छन् ।

मन्त्री खतिवडा लगानी बोर्डका उपाध्यक्ष हुन् भने मन्त्री यादव सदस्य । अहिले नयाँ ऐनमार्फत बोर्डको अधिकार थपिएको छ । यसले धेरै मन्त्रालयको अधिकार कटौती भएको छ, जसबाट उद्योग मन्त्रालय पनि प्रभावित हुनेछ ।

तर, मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने निकाय भनेकै उद्योग विभाग हो । सो विभागमा दर्ता नभइ लगानी सम्भव छैन । सुरुको निकायले सहजीकरण गर्नुपर्नेमा विभागीय मन्त्री नै यसरी असन्तुष्ट हुन थालेपछि अन्तरनिकाय सम्बन्धदेखि समग्र लगानीमै प्रतिकूल प्रभाव पर्ने देखिएको छ ।

प्रकाशित : १६ चैत्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह