Logo

कर्पोरेट-बजार

५ वर्षमा १५ विमान थप्ने निगमको योजना, १ खर्ब कहाँबाट ल्याउने ?


appharu
   १८ श्रावण २०७५, शुक्रबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आउँदो पाँच वर्षभित्र १५ वटा नयाँ जहाज खरिद गर्ने भएको छ । निगमले आन्तरिक उडानसँगै अन्तर्राष्ट्रिय उडानका लागि यो संख्यामा जहाज खरिद गर्ने योजना बनाएको हो ।

तर, निगमले चाहेरमात्र यो संख्यामा जहाज खरिद गर्न सक्दैन । यसका लागि १ खर्ब रुपैयाँभन्दा बढी चाहिने भएकाले सबै रकमका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा भर पर्ने अवस्था पनि रहँदैन ।

यस्तै, हालको आम्दानीबाट हुने वार्षिक अनुमानित १० अर्ब नाफाले भने हालै खरिद गरिएका ४ वटा जहाजको साँवाब्याज बापतको किस्ता तिर्नै ठिक्क हुने देखिन्छ ।

निगमको जहाज खरिदमा अर्थ मन्त्रालय सकारात्मक भइदिने हो भने असम्भव भने छैन । अर्थले ट्वीनअटरका लागि आफैं बजेट विनियोजन गरिदिने र ठूला जहाजका लागि जमानी बस्ने हो भने निगमको योजना पूरा हुन सक्छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि वाइडबडी र न्यारोबडी गरी १० वटा र आन्तरिक उडानका लागि ५ वटा ट्वीटअटर जहाज खरिद गर्ने योजना छ । ३ वर्षअघि एयरबस कम्पनीका २ वटा न्यारोबडी जहाज खरिद गरेको निगमले हालैमात्र २ वटा वाइडबडी जहाज पनि ल्याइसकेको छ ।

हाल सञ्चालनमा रहेको बोइङ कम्पनीको ७५७ जहाज विस्थापन गरी एयरबस कम्पनीकै जहाज ल्याउन निगम जुटेको छ । निगमको आगामी कार्यदिशाअनुसार नेपालको अन्तर्राष्ट्रिय हवाई व्यापारमा ६० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखिएको छ ।

आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसके पनि निगमले थप ५ ट्वीनअटर जहाज खरिद गरेर दुर्गममा सेवा बढाउने लक्ष्य राखेको छ । दुर्गम क्षेत्रमा उडान निगमले नाफाका लागि नभइ सेवामुखी भावनाले सञ्चालन गर्नेछ ।

निगमले थप जहाज भित्र्याए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्न भने सम्भव छैन । निगमका नयाँ जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्नुपर्ने छ ।
सरकारले अबको पाँच वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको क्षमतालाई दोब्बर वृद्धि गर्ने जनाएकाले जहाज थप्न समस्या हुने छैन ।

यस्तै, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्रै सञ्चालनमा आउने छ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तीन वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

तर, ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य राखे पनि यो भने पूरा हुने सम्भावना देखिएको छैन ।

सरकारले आगामी पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेसँगै विमान थप्ने र विमानस्थल निर्माणलाई गति दिने काम एकसाथ अघि बढेको छ ।

प्रकाशित : १८ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह