Logo

अर्थनीति

सवा १३ खर्बको व्यापारमा भारतबाट आयात ६५ प्रतिशत, निर्यात ५७ प्रतिशत


appharu
   २२ श्रावण २०७५, मंगलबार


काठमाडौं । नेपालले गत आर्थिक वर्षमा (२०७४/७५) मा १३ खर्ब २४ अर्ब २९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँको वस्तु आयात भएको छ भने ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार रुपैयाँमात्रैको निर्यात भएको छ ।

कुल व्यापारमा गत वर्ष पनि दक्षिणी छिमेकी भारतकै अधिपत्य देखिएको छ । गत आवमा भएको कुल व्यापारमा आयातमा भारतको हिस्सा ६५.२ प्रतिशत छ भने नेपालबाट कुल निर्यातको ५७.४ प्रतिशत उत्पादन भारतर्फै गएको छ ।

यस्तै नेपालसँग व्यावसायिक साझेदारी गर्नेमा उत्तरी छिमेकी चीन दोस्रो स्थानमा छ । कुल आयात व्यापारमा चीनको हिस्सा १२.१ प्रतिशत छ भने निर्यातको हिस्सा नगण्यमात्रै छ ।

गत वर्षको तुलनामा २७.५३ प्रतिशतले व्यापारघाटा बढेर ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात–निर्यात अनुपात ९३.९ः६.१ रहेको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष २०७३(७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष व्यापारघाटा २ खर्ब ५१ अर्बले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

भारतबाट एक वर्षमा १ खर्ब ९० अर्ब ८५ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँको आइरन एण्ड स्टील आयात भएको छ । भारतलगायत तेस्रो मुलुकबाट १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँको मेसिनरी सामान, ८६ अर्ब ३० करोडको सवारी साधन र ७८ अर्ब २८ करोड रुपैयाँ बराबरको विद्युतीय सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

प्रकाशित : २२ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह