Logo

कार्पेट / बजार

उद्योग परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक



काठमाडौँ ।

नेपाल उद्योग परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट र मोबाइल एप सार्वजनिक गरेका हुन् ।

स्वदेशी अभियानमा आवद्ध हुन चाहने सम्पूर्ण उद्योगी व्यवसायीले वेबसाइट र एप्लिकेसनबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यसैगरी स्वदेशी अभियानका जानकारी पनि मोबाइल एप्लिकेशन र वेबसाइटमा समावेश छ ।

स्वदेशी अभियानमा अहिलेसम्म ४० स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध भनेका छन् । नेपालमा वस्तु उत्पादन गर्ने वा विदेशबाट कच्चा पदार्थ आयात गरी २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने वस्तु तथा सेवा उत्पादक यस अभियानमा जोडिन सक्ने गरी अभियानको प्रारम्भ गरिएको छ ।

परिसंघले नेपालको व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन र देशको दीगो आर्थिक विकासको आधारशिला नै औद्योगिक विकास हो भन्ने मूल सन्देशसहित यो अभियान अघि बढाएको छ । अभियानको कार्यान्वयनसँगै देशमा औद्योगिक विकास र रोजगारी सिर्जनामा गुणात्मक परिवर्तन आउने परिसंघको विश्वास छ ।

स्वदेशी वेबसाइट सार्वजनिक गर्दै परिसंघका अध्यक्ष अग्रवालले नेपाली उपभोक्तामाझ स्वदेशी वस्तुमाथिको विश्वसनीयता वृद्धि गर्दै नेपालमा उत्पादित वस्तुको माग बढाउने उद्देश्य अभियानले राखेको बताए ।

उनले स्वदेशी वस्तुको माग बढ्दै जाँदा त्यसले औद्योगीकरणमा पनि टेवा दिने उल्लेख गरे । अध्यक्ष अग्रवालले नेपालको औद्योगीकरणका लागि आवश्यक नीतिगत मध्येस्थताका विषयमा नेपाल सरकारलाई अध्ययनसहितको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी पनि दिए ।

यसैगरी परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा कमजोर हुँदै गएको भन्दै त्यसमा सुधारका लागि परिसंघले यस अभियान अघि बढाएको उल्लेख गरे ।

यस्तै परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि स्वदेशमा वस्तु उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्दै निर्यात वृद्धि गर्ने लक्ष्य अभियानले राखेको बताए । स्वदेशी वर्किङ कमिटीका संयोजक हितेश गोल्छाले वेबसाइट र एप्लिकेसनबाट सम्पूर्ण जानकारी पाइने भन्दै सम्पूर्ण स्वदेशी वस्तु तथा सेवा उत्पादकलाई यस अभियानमा आवद्ध हुन आग्रह गरे ।

नेपालको औद्योगीकरणको उद्देश्य राखेर सुरु गरिएको अभियान २०७७ फागुन २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । यस अभियान कार्यान्वयनका लागि नेपाल सरकार र नेपाल उद्योग परिसंघबीच २०७८ असार १० गते समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

स्वदेशी अभियानका ७ वटा स्तम्भ रहेका छ । जसमा उत्पादनसँग सम्बन्धित ४ वटा र उपभोगसँग सम्बन्धित ३ वटा लक्ष्य रहेका छन् । नेपाली उद्योगका लागि व्यवसायमैत्री वातावरण, आयात प्रतिस्थापन, पूर्वाधारमा पुँजीगत खर्च, सेवा क्षेत्रको आधुनिकीकरण, नेपाली उपभोक्ताद्वारा स्वदेशी वस्तुको उपभोग, सार्वजनिक खरिदमा स्वदेशीलाई प्राथमिकता र स्वदेशी वस्तुको निर्यात यस अभियानका स्तम्भहरू हुन् ।

स्वदेशी अभियान कार्यान्वयन गर्दै नेपालको कूल गार्हस्थ्य उत्पादनमा संरचनागत परिवर्तनका लागि ३४ वटा नीतिगत मध्येस्थता तय भएका छन् । त्यसमा श्रृखंलाबद्ध छलफल गर्दै नेपालमा उद्योगमैत्री वातावरण तयार गर्ने परिसंघको उद्देश्य रहेको छ ।

वार्षिक १ हजार उद्योग दर्ता, सन् २०२५ सम्ममा कूल गार्हस्थ्य उत्पादनमा उद्योगको हिस्सा २२ प्रतिशत र सन् २०३० सम्ममा २५ प्रतिशत पुर्‍याउने, वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र आगामी ५ वर्षमा निर्यात ४।६ अर्ब डलर बराबरको पुर्‍याउने लक्ष्य अभियानका रहेका छन् ।

स्वदेशी अभियानमा जोडिने वस्तु तथा सेवा उत्पादकले स्वदेशी लोगो पाउनेछन् । यस लोगोले स्वदेशी वस्तु गुणस्तरीय हुन्छन्, स्वदेशी लोगो प्रयोग भएका वस्तु मूल्यमा प्रतिस्पर्धी हुन्छन्, नेपालमा मूल्य अभिवृद्धि भएको हुने, स्वच्छ व्यापारको प्रवद्र्धन गर्ने, वातावरणमैत्री व्यवसाय र उत्पादनको सुनिश्चितता तथा नैतिक अभ्यास जस्ता विषयको सुनिश्चितता गर्ने परिसंघले जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह