Logo

कर्पोरेट-बजार

सुकिलुम्बा विमानस्थल सञ्चालनको तयारी


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


यहाँस्थित सुकिलुम्बा विमानस्थल छिट्टै सञ्चालनमा आउने भएको छ । यसका लागि इलाम नगरपालिका र तारा एयर प्रालिबीच जहाज सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

अगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान–अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा रु आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।

नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको छ । नगर प्रमुख महेश बस्नेतले रु आठ हजार ७०० मा टिकट काटिएपछि आउने–जाने दुवैतर्फी टिकट यात्रुले पाउने जानकारी दिनुभयो । हाल तीन हप्ताका लागि सम्झौता भएको छ । कम्तीमा तीन महिना नियमित सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार यस अवधिमा इन्धनको मूल्य फरक परेमा त्यहीअनुसार भाडा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ । गत चैत अन्तिम साता नै विमानस्थल उडान–अवतरणका लागि तयार भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पनि उडान–अवतरणका लागि विमानस्थल तयार भइसकेको छ ।

विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौर्डाको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब रु २८ करोड खर्च भइसकेको प्राधिकरणले जनाएको छ । २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । विमानस्थल सञ्चालनपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ सिक्किमलगायतका बासिन्दालाई सुविधा हुनेछ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह