Logo

कर्पोरेट-बजार

अब डिजिटल माध्यमबाटै २ अर्बसम्मको राजस्व भुक्तानी सुविधा


GDP Nepal
   २६ फाल्गुन २०७८, बिहिबार


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गर्दै आएको एनसीएचएल ब्यांक सेन्ट्रल तथा कर्पोरेट पे प्रणाली मार्फत् गरिने सरकारी राजस्व भुक्तानी सम्बन्धी अन–अस (पठाउने र पाउने बैंक वित्तीय संस्था एउटै रहेको खण्डमा) भुक्तानीको प्रति कारोवार सीमा बृद्घि गरिएको छ ।

विभिन्न सरकारी निकाय तथा बैंक वित्तीय संस्थाको समन्वय एवम् नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कारोबार सीमा बृद्धि गरिएकोमा अब बैंक÷वित्तीय संस्थाका ग्राहकहरुले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल ब्यांक सेन्ट्रलमार्फत अन–असमा २ अर्बसम्म, र कर्पोरेट पे मार्फत पब्लिक नेटवर्कबाट अन–अस मा १ करोड र प्राइभेट नेटवर्कबाट अन–असमा ५ करोडसम्म गर्न सक्नेछन् ।

वृद्धि गरिएको प्रति कारोबार सीमा पठाउने र पाउने बैंक ÷वित्तीय संस्था एउटै रहेको खण्डमा लागू हुनेछ भने पाउने र पठाउने बैंक÷वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोड सम्म र रियल टाइम भुक्तानी २० लाखसम्म नै लागू हुनेछ ।

थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । विशेषत नेपाल सरकार अन्तरिक राजस्व विभाग, भन्सार विभाग जस्ता ठूला रकम भुक्तानी गर्नुपर्ने निकायहरुका लागी यो सुविधा थप प्रभावकारी हुनेछ ।

एनसीएचएलले हाल कनेक्ट आईपीएस कर्पोरेट पे, ब्यांक सेन्ट्रलका साथै विभिन्न सदस्य बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्ग तथा विभिन्न मोबाईल वालेट मार्फत पनि सरकारी राजस्व संकलन गर्ने सेवा विस्तार गर्दै आएकोमा चालू आर्थिक वर्षको फाल्गुन महिनाको मध्यसम्म एनसीएचएल मार्फत ३४ अर्ब बराबरको राजस्व संकलन भइसकेको छ ।

हाल एनसीएचएलमा ६० बैंक वित्तीय संस्था आबद्ध रही ५ हजार ७०० भन्दा बढी बैंक शाखाहरु मार्फत यसका विभिन्न सेवा सञ्चालन हुँदै आएका छन् भने यसमा ८७ वटा गैर–बैंकिङ्ग संस्था अप्रत्यक्ष तथा प्राविधिक सदस्यका रुपमा जोडिएका छन् ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह