Logo

Sub-banner

चिया क्षेत्रमा उच्चस्तरीय कार्यदल गठन– समाधान होलान त समस्या ?


appharu
   १० आश्विन २०७५, बुधबार


काठमाडाैँ ।चिया उद्योग क्षेत्रमा देखिएका सम्भावनाको खोजी र समस्या समाधानका लागि सरोकारवाला पक्षको संलग्नतामा सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया क्षेत्रको समग्र विकास, समष्टिगत समस्या र चुनौतीलाई सम्बोधन गर्न मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा कार्यदल गठन गरेको हो ।

कार्यदलमा चिया उद्योगसँग सम्बद्ध सङ्घीय मन्त्रालय र प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिसहित चिया क्षेत्रका विज्ञ सदस्य रहेका छन् ।

कार्यदलले चिया क्षेत्रको दीगो विकास गरी चिया उद्योगलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा स्थापित गर्न विद्यमान कानूनी, संस्थागत तथा व्यवहारिक समस्या र चिया व्यवसायी तथा श्रमिकको चासो र सरोकारलाई ध्यान दिई आगामी दिनमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधार समेटी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यदलले आवश्यकताअनुसार कार्य समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त कार्य समूहमा चिया व्यवसायीका अतिरिक्त चिया क्षेत्रमा कार्यरत ट्रेड युनियनका प्रतिनिधि सहभागी हुन सक्नेछन् । कार्यदललाई कार्य प्रारम्भ भएको मितिले दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा तोकिएको मन्त्रालयले जनाएको छ ।

चियालाई व्यावसायिक उद्यमका रुपमा विकास गर्न सरकारी तहबाट कानूनी, संस्थागत र संरचनागत व्यवस्था हुँदै आएको उल्लेख गर्दै मन्त्रालयले कार्यदल गठनपछि चिया क्षेत्रमा हाल देखा परेका द्विविधा तथा अन्योल समाधान हुने विश्वास व्यक्त गरेको छ ।

साथै मन्त्रालयले चिया क्षेत्रमा तत्काल देखिएका समस्याको समाधान वार्ता तथा छलफलको माध्यमबाट खोज्नसमेत मन्त्रालयले सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ ।

प्रकाशित : १० आश्विन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह