Logo

कर्पोरेट-बजार

‘डिसहोमको आईपीओ यस वर्षभित्रै आउँछ’


appharu
   २१ आश्विन २०७५, आइतबार


काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले यसै वर्षभित्र साधारण सेयर जारी गर्ने जनाएको छ । २ अर्ब चुक्ता पुँजी भएको कम्पनीले १० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार आईपीओका लागि पूर्वतयारी भइरहेको छ । धितोपत्र निस्कासन नियमावलीअनुसार पूरा गर्नुपर्ने शर्त र मापदण्ड पूरा गर्ने काम भइरहेको आचार्यले जानकारी दिए ।

डिसहोमले तीन वर्षसम्म निरन्तर नाफामा गएको हुनुपर्ने र कम्पनी रजिष्ट्रार कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनुपर्ने शर्त पूरा गरिसकेको छ ।

आचार्यका अनुसार अहिले कम्पनीको रेटिङ गर्ने काम भइरहेको छ भने अब गत आर्थिक वर्षको अडिट रिपोर्ट समेत प्राप्त भएपछि सोही तथ्यांकलाई विवरणपत्रमा राख्नेगरी साधारण सेयर निस्कासनको प्रक्रियामा जाने कम्पनीले जनाएको छ ।

डिसहोमका अघिल्ला तीन वर्षको नाफा भने उत्साहजनक नै छ ।

आर्थिक वर्ष २०७१/७२ मा २ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले २०७२/७३ मा २३ करोड रुपैयाँ र २०७३/७४ मा कम्पनीले ४५ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्ष (२०७४/७५)मा नाफा अझ बढ्ने प्रारम्भिक आकलन गरिएको छ । कम्पनी निकट स्रोतका अनुसार चालू आर्थिक वर्षमा पनि करिब ६० करोड नाफा हुने अनुमान छ । कम्पनीले भने पुरानो घाटा पनि केही रिकभर गर्नुपर्ने भएकाले लेखापरीक्षणमा केही समय लागेको जनाएको छ ।
“आवश्यक सबै पक्रिया पूरा हुँदै गएको छ र कम्पनी निरन्तर नाफामा भएकाले यसै आर्थिक वर्षको अन्त्यसम्म आईपीओ जारी गर्ने हाम्रो तयारी छ,” प्रबन्ध निर्देशक आचार्यले भने ।

कम्पनीको व्यवस्थापनबाट प्रभु समूह बाहिरिएको छ भने हाल यसको नेतृत्व आईएमई समूहका हेमराज ढकालले गरिरहेका छन् । यसमा ताइवानको सान्डमार्टिन होल्डिङ्सको पनि लगानी रहेको छ ।

कम्पनीले निकट भविष्यमा इन्टरनेटमा नेपाली उपमोक्तलाई नयाँपन दिने तयारी रहेको जनाएको छ ।

हाल डिसहोमको सेवा देशका ७७ वटै जिल्लामा पुगिसकेको छ ।

डिसहोमले अन्य टिभीसँगै स्पोट्र्स च्यानल र रमाइलो टिभी भनेर छुट्टै च्यानलसमेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित : २१ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह