Logo

कर्पोरेट-बजार

पर्वतमा विश्वकै दोस्रो अग्लो बञ्जी–जम्प बन्दै


appharu
   १ कार्तिक २०७५, बिहिबार


काठमाडौं । प्रदेश ४ को पर्वतमा विश्वकै दोस्रो अग्लो बञ्जीजम्प निर्माण कार्य धमाधम भइरहेको छ ।

कालीगण्डकीको खोंचमा बन्ने बन्जीको कुल उचाइ २ सय २८ मिटर हुनेछ । कुश्मा र बागलुङको बलेवालाई ५ सय २० मिटर लामो झोलुंगे पुलमा जोडेर यसको निर्माण गर्न लागिएको हो ।


फ्रेञ्च नागरिक फ्लोरेन्सको प्रारम्भिक अध्ययनपछि बन्न लागेको बन्जी निर्माणपछि यस क्षेत्रमा विदेशी पर्यटक अझै बढ्ने अपेक्षा गरिएको छ भने स्वदेशीको पनि आकर्षण रहनेछ ।

हाल यस बन्जीको मुख्य लगानीकर्तामा कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रेन्च नागरिक फ्लोरेन्स छिन् ।

बञ्जीको निर्माण कार्य हालसम्म ८० प्रतिशत पूरा भएको छ । यसका लागि हालसम्म १२ करोड रुपैयाँ खर्च भइसकेको जनाएका छन । बञ्जीमा प्रभु बैंकले समेत ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

संसारकै गहिरो खोंच बनाएर बग्ने दावी गरिएको कालीगण्डकी नदीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुंगे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बन्जी बन्ने दाबी लगानीकर्ताहरूको छ ।
५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बन्जी मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना हो । २०७३ बैशाखमा निर्माण सुरु भएकोमा हालसम्म निर्माणकार्य करिब ८० प्रतिशत सकिएको छ ।
बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।

बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काई साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने दाबी लगानीकर्ताहरूको छ । बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महिनाभित्र निर्माणकार्य सक्ने जनाएको छ ।

लगानीकर्ताहरूले पर्वतलाई साहसिक पर्यटनको हब बनाउने दाबी गरेका छन् ।

प्रकाशित : १ कार्तिक २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह