Logo

राजनीति

आज विजयादशमी, टीकाको साइत ०९ः५१ मा


appharu
   २ कार्तिक २०७५, शुक्रबार


काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आज देशैभर हर्षोल्लासपूर्वक मनाइँदैछ । विदेशमा बस्ने नेपालीहरुले पनि यस चाड मनाउने गर्दछन् ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र हार्दिकता साटासाट गर्न प्रभावकारी भूमिका निर्वाह गरिरहेको हाम्रो सांस्कृतिक वैभवको रुपमा रहेको बडादशैँले सामाजिक एकता, आपसी सद्भाव र आत्मीय भ्रातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले दशैँघरमा कृषि औजार र विभिन्न बनस्पतिकोपूजा गरिने चलनलेमानव जीवनसँग घनिष्ट सम्बन्ध रहेको बोटबिरुवा र कृषि प्रणालीको संरक्षण गर्नुपर्ने चेतना फैलाएको तथा सांस्कृतिक मूल्य मान्यता र मानव जीवनलाई सुखी र समृद्ध तुल्याउने सन्देश समेत प्रवाह गर्दै आएको शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सङ्घीय प्रतिनिधिसभाका सभामुख, विभिन्न राजनीतिक दलका नेतालगायत नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वले पनि बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी हार्दिक शुभकामना प्रकट गरेका छन् ।

सभामुख कृष्णबहादुर महरा, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडको रूपमा वहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद् अवसरमा समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : २ कार्तिक २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह