काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमा उद्योगी व्यवसायीले आफ्ना माग समेट्न खोज्नु स्वाभाविक भए पनि अहिलेको अवस्थामा व्यवसायीका माग पूरा गर्न सम्भव नभएको स्पष्ट पारेका छन् ।
मौद्रिक नीतिका सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा गभर्नर अधिकारीले मुलुकको विद्यमान आर्थिक संकट र चुनौतीको सामना गर्ने मौद्रिक नीति आउने बताए ।
“अहिलेको अवस्थामा देशको आवश्यकता के हो त्यहीअनुसार मौद्रिक नीति आउँछ,” गभर्नर अधिकारीले भने, “तपाइँ (व्यापारी)हरुलाई के लाग्छ महाप्रसादलाई के लाग्छ भन्ने भन्दा पनि पोलिसीमा के आवश्यक छ, त्यही अनुसार मौद्रिक नीति आउँछ ।”
गभर्नर अधिकारीले मौद्रिक नीतिका लागि विज्ञ टीमले तयारी गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रका मागहरु सान्दर्भिक भए पनि अहिले नै सबै समेट्न नसकिने बताए ।
“हामी यतिबेला चुनौतीपूर्ण अवस्थामा छौं, वाह्य क्षेत्रको स्थायित्व सबैभन्दा बढी चुनौतीपूर्ण छ,” अधिकारीले भने, “हामीलाई चालू खाता धान्न नै समस्या परिरहेका बेला उपभोग घटाउनु परे पनि तयार हुनुपर्छ ।” उनले अर्थतन्त्रलाई चलायमान बनाउन उपभोग बढाउनु परे पनि चालू खर्च नै धान्न मुश्किल परिरहेकाले उपभोक्तादेखि सरकारसम्म सबैले कम्प्रोमाइज गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले सरकारले बैंकहरुको नाफामा कडाई गर्नुपर्ने धारणा राखे । उद्योग व्यवसायीले कर्जा नपाएको गुनासो गरिरहेको उल्लेख गर्दै गोल्छाले तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले केही सहज गर्नुपर्ने धारणा राखे ।
साना उद्यमीले सम्झौता गरिसकेको ऋण नपाएको गुनासो गर्ने गरेको उल्लेख गर्दैै गोल्छाले अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको रहेको बताए ।
कार्यक्रममा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले कार्यपत्र प्रस्तुत गर्दै अर्थतन्त्र संकटमा रहे पनि मौद्रिक नीतिले तरलता व्यवस्थापनसहित निर्यात प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने धारणा राखे ।
महासंघ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित व्यवसायीहरु प्रकाशसिंह कार्की, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, नरेशलाल श्रेष्ठ, खोजराज कटुवाल, चण्डीप्रसाद अर्याल बैंकर सुनिल केसीलगायतले मौद्रिक नीतिका लागि सुझाव दिएका थिए ।
प्रतिक्रिया