काठमाडौं । पाँचतारे होटल र्याडिसन अब विराटनगरमा पनि खुल्ने भएको छ । अन्तर्राष्ट्रिय चेन र्याडिसन होटल ग्रुप र सेञ्चुरियन होटलबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंको होटल र्याडिसनमा सम्पन्न समझदारीपत्रमा सेञ्चुरी ग्रुपअफ कम्पनीका अध्यक्ष मोतीलाल दुगड र र्याडिसन होटल ग्रुप, साउथ एसियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरे ।
होटलमा १ सय ४० कोठाको होटलमा स्विमिङ पुल, जिम, स्पा, १० हजार स्वायर फिटको विशेष प्रकारको रेस्टुराँ तथा ब्यांक्वेट र क्यासिनो पनि हुने जनाइएको छ ।
सन् २०२४ को जनवरीबाट होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताइएको छ । नेपालको औद्योगिक राजधानीका रूपमा चिनिने विराटनगरमा पाँचतारे होटल खुल्दा त्यस क्षेत्रका व्यवसायी र देश विदेशबाट आउने पर्यटक लाभान्वित हुने अध्यक्ष दुगडको भनाइ छ ।
‘प्रदेश १ भ्रमणमा आउने पर्यटक र यस क्षेत्रका मानिसलाई उच्चस्तरको सेवा दिने योजनासाथ हामीले काम अगाडि बढाएका छौं,’ उनले भने, ‘यसमा विश्वप्रसिद्ध चेन होटल र्याडिसनलाई भित्र्याउन पाउँदा हामी उत्साहित छौं,’ दुगडले भने ।
विराटनगर एयरपोर्टबाट ४.२ किमि, जोगबनी रेलवे स्टेसनबाट १५ मिनेटको दूरी र भारतको सीमाबाट जम्मा ८.६ किमि दूरीमा रहेको होटलमा आउन भारतीय पर्यटक तथा व्यवसायीहरूका लागि पनि सहज भएको बताइएको छ ।
प्रतिक्रिया