Logo

कर्पोरेट-बजार

कालिञ्चोक केबलकार एक साताभित्रै सञ्चालनमा, प्रधानमन्त्री निकट व्यवसायीको लगानी !


appharu
   १६ कार्तिक २०७५, शुक्रबार


दोलखा । कालिञ्चोक केबलकार एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ ।

दोलखाको कुरीदेखि कालिञ्चोक जोड्ने यो केबलकार तयार भइसके पनि प्राविधिक परीक्षणा पूरा नभएकाले सञ्चालनमा आउन सकेको थिएन ।

कम्पनीका सञ्चालकहरुका अनुसार तिहारअघि यात्रुलाई सेवा दिनेगरी केबलकार सञ्चालनमा आउने भएको हो । दसैंदेखि सञ्चालनमा ल्याउने तयारी भए पनि उक्त समयमा प्रारम्भिक परीक्षणमात्र गरिएको थियो ।

केबलकारको प्राविधिक परीक्षणका लागि पुगेका २ जना स्वीस इन्जिनियरले कालिञ्चोक पुगेर केबलकारको इलेक्ट्रिक तथा सफ्टवेयरको परीक्षण सम्पन्न गरेका छन् ।

लगानी बोर्डका सञ्चालकसमेत रहेको प्रधानमन्त्री केपी ओलीनिकट व्यवसायी वालकृष्ण शिवाकोटीले यो केबलकार निर्माण गरेका हुन् । शिवाकोटीको बहुमत सेयर रहेको कालिञ्चोक दर्शन लिमिटेडमा केही स्थानीय कांग्रेस नेताहरुलाई समेत सेयर दिएर शक्ति सन्तुलन मिलाउन खोजिएको छ ।

शिवाकोटी काठमाडौंको पिंगलास्थनमा सःमिल सञ्चालक भए पनि छोटो समयमै मुलुकका ठूला व्यवसायीको रुपमा स्थापित भएका छन् । गौशालास्थित पशुपति भिजनदेखि तिनकुनेको रोयल ब्यांक्वेटलगायतमा लगानी गरेका शिवाकोटीलाई प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा लगानी बोर्डको आमन्त्रित सदस्य र हाल पूर्ण सदस्य मनोनित गरेका छन् ।

कालिञ्चोक केबलकार मुलुकको तेस्रो केबलकार हो भने यो सबैभन्दा छोटो दूरीको केबलकार पनि हो । केबलकार १ किलोमिटरभन्दा छोटो हुने जनाइएको छ ।

केबलकारले १ घन्टाको पैदल दूरी छोट्याउनेछ भने निजी सवारी हुनेहरुले कुरीभन्दा केही माथिसम्म जानसक्ने भएकाले ३० मिनेटमा केबलकार प्रयोग नगरी पैदलयात्राबाटै मन्दिरसम्म पुग्न सक्नेछन् ।

केबलकारको कुल लागत ४० करोड रुपैयाँ रहने जनाइएको छ । यसको बेस स्टेशनमा कुनै समस्या नभए पनि माथिल्लो स्टेशनको भौगर्भिक अध्ययन राम्रोसँग नगरी निर्माण गरिएको भन्दै आलोचनासमेत हुने गरेको छ ।

सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोट पुग्ने बाटोको दूरावस्थाका कारण यस वर्ष कालिञ्चोकमा समेत पर्यटकको आकर्षण बढ्न सकेको छैन ।

प्रकाशित : १६ कार्तिक २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह