Logo

बिजनेस होम

भ्रमण वर्षमा व्यवसायीको टिप्पणीः हान भन्छ– २० लाख पर्यटक सम्भव छैन !


appharu
   २८ कार्तिक २०७५, बुधबार


काठमाडौं । मुलुकका अगुवा पर्यटन व्यवसायीहरुले सन् २०२० को नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने सरकारी योजना पूरा नहुने टिप्पणी गरेका छन् ।


होटल संघ नेपाल (हान)ले २० लाख पर्यटक भित्र्याउने सरकारी नारा यथास्थितिमा पूरा हुन असम्भव रहेको टिप्पणी गरेको हो । संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अहिलेको तयारीले २० लाख पर्यटकको सपना नदेख्न सरकारलाई सुझाव दियो ।

“हामी २० लाखमात्र हैन ५० लाख पर्यटक पनि ल्याउन सक्छौं, तर पूर्वाधारको जताततै अभाव छ,” पत्रकार सम्मेलनमा हान अध्यक्ष अमरमान शाक्यले भने, “मुख्य कुरा कनेक्टिभिटीको हो, हाम्रो हवाई पूर्वाधार एकदमै कमजोर रहेकाले २० लाख पर्यटक २०२० मा आउनेछैनन् ।”

उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग सीमित जहाज र सीमित गन्तव्य भएको तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता पनि कमजोर रहेको भन्दै २० लाख पर्यटकको सपना नदेख्न आग्रह गरे ।

यसैबीच, दक्षिण भारतबाट पर्यटक ल्याउन हानले बैंगलोरमा मंसिर तीन गतेबाट सेल्स मिसन सुरु गर्ने भएको छ । नेपालको पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै नेपालका सबै क्षेत्रका सबै स्तरका होटलको अवस्था र सुविधासम्बन्धी जानकारी दिने संघका अध्यक्ष शाक्यले जानकारी दिए ।
उनका अनुसार यही क्रममा संघको अर्धवार्षिक साधारणसभा बैंगलोरको लेमोन ट्रि प्रिमियर होटलमा आयोजना गर्नेछ । साधारणसभामा हानसँग आबद्ध ३० वटा होटल व्यवसायीको सहभागी हुनेछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि भारतीय पर्यटक वृद्धि भएको बताउँदै शाक्यले भने, “अहिले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको संख्या तुलनात्मक हिसाबले धेरै छ । यो क्रमलाई थप विस्तार गर्नका लागि हामीले बैंगलोरका प्रमुख ट्राभल एन्ड टुर अपरेटरसँच बीटुबी मिटिङ गर्ने योजना बनाएका छौँ ।”

नेपाल वायुसेवा निगमले बैंगलोरमा सीधा उडान गर्दै आएको कारण दक्षिण भारतबाट पर्यटक ल्याउन कार्यक्रम गर्न लागिएको संघकी उपाध्यक्ष सिर्जना राणाले बताइन् । नेपालमा पर्यटकलाई आकर्षण गर्ने धेरै ठाउँहरू छन् । यहाँ सबै प्रकारको हावापानी एकैदिनमा अनुभव गर्न सकिन्छ ।

त्यसमा पनि भारतसँग धार्मिक हिसाबले हिन्दु, बुद्धिष्ट सर्किटलगायत पर्यटन प्रवद्र्धन गर्न लागेकोले चीन र भारतबाट पर्यटक ल्याउनेतर्फ हाम्रो ध्यान केन्द्रित गरेको उपाध्यक्ष राणाले बताइन् ।

यो वर्ष बाह्य पर्यटकको संख्या १२ लाख पुग्ने अनुमान गरिएको शाक्यले बताए । अहिलेको अवस्थामा ३२ लाख पर्यटकको आतिथ्य सत्कार गर्न सक्ने क्षमता छ ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह