Logo

कर्पोरेट-बजार

निजी क्षेत्र र सरकारबीच मैत्रीपूर्ण फुटबलः महासंघको जीतमा लक्ष्मी त्रिपाठी चम्किए


appharu
   ६ मंसिर २०७५, बिहिबार


काठमाडौं । निजी क्षेत्र र कर प्रशासनबीचको मैत्रीपूर्ण फुटवल प्रतियोगिता नेपाल उद्योग वाणिज्य महासंघले जितेको छ । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आन्तरिक राजस्व विभागबाट उक्त प्रतियोगितामा सहभागी थिए ।

खेलमा महासंघले ३ गोल गरेको थियो भने विभागका तर्फबाट एक गोल भएको थियो । महासंघको आयोजना र आन्तरिक राजस्व विभागको सह–आयोजनामा उक्त प्रतियोगिता आयोजना भएको हो ।


खेलको पहिलो हाफको अन्तिम समयमा महासंघको तर्फका डी एरियामा फल गरिएपछि पाएको पेनल्टीमा विभागका तर्फबाट रूपेश थापामगरले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको प्रारम्भमै महासंघका तर्फबाट जर्सी नम्वर ६ का खेलाडी रामनाथ श्रेष्ठले गोल गरी निजी क्षेत्रलाई पहिलो गोल उपहार दिएका थिए । जर्सी नम्वर २० का खेलाडी लक्ष्मी त्रिपाठीले दोस्रो र तेस्रो गोल गरी निजी क्षेत्रलाई फराकिलो अग्रता दिलाएका थिए ।

खेल बिहीबार विहान ८ बजे आर्मी अफिसर्स क्लबको फुटबल मैदानमा खेलाइएको थियो । प्रतियोगिताको अर्थमन्त्री डा. युवराज खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।

खेलमा निजी क्षेत्रको नेतृत्व अध्यक्ष राणा र विभागको नेतृत्व विभागका महानिर्देशक विष्णु प्रसाद नेपालले गरेका थिए। खेलमा दुवै तर्फका करिव ४० जना खेलाडीहरू छनौट गरिएको थियो । खेलमा महासंघका खेलाडीहरू सेतो जर्सी र विभागका खेलाडीहरू निलो जर्सीमा थिए ।

करका तर्फबाट आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल र निजी क्षेत्रका तर्फबाट महासंघका अध्यक्ष राणाले नेतृत्व गरेका थिए । अध्यक्ष राणसहित महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सहित कार्यकारिणी समितिका सदस्यहरूले पनि खेलमा भाग लिएका थिए ।

 

सातौं राष्ट्रिय कर दिवस अवसरमा कर प्रशासन र निजी क्षेत्र बीच सम्बन्ध प्रगाढ बनाई कर प्रशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथि अर्थमन्त्री खतिवडा, महासंघका अध्यक्ष राणा र प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रतियोगिताको सफलताका लागि शुभ–कामना दिए ।

 

कार्यक्रमको अन्त्यमा महासंघका अध्यक्ष राणा र विभागका महानिर्देशक नेपालले संयुक्त रूपमा विजयी खेलाडीलाई कप हस्तान्तरण गरे ।

प्रकाशित : ६ मंसिर २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह