Logo

विकास / पूर्वाधार

विकासको बाटोमा देशः चार वर्षमा ८ हजार किलोमिटर पिच सडक, १ हजार किमि रेलवे !


appharu
   ७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । सरकारले आउँदो चार वर्षभित्र मुलुकमा ६ देखि ८ हजार किलोमिटर पिच सडक निर्माण गर्ने भएको छ । यस्तै, २ हजार ८ सय किमि रेलवेको डीपीआर तयार गर्ने र १ हजार किमिमा रेल यातायात नै सञ्चालन गर्ने सरकारको योजना छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार पूर्वपश्चिम र उत्तरदक्षिण रेलमार्गका लागि पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने डीपीआर निर्माणको चरणमा गइरहेको छ ।

रेलमार्ग, सडकमार्ग र जलमार्ग स्थापनाका लागि सरकारले आउँदो तीन वर्षमा १० अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने मन्त्री महासेठले जानकारी दिए ।

भक्तपुरको सल्लाघारीमा निर्माण उपकरणसम्बन्धी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री महासेठले पूर्वाधारमा लगानी बढाएमात्रै देश समृद्ध हुने धारणा राखे ।

“प्रधानमन्त्री केपी ओलीले सगरमाथाको देशलाई सागरसम्म जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएअनुसार हामी जलमार्ग निर्माणको तयारीमा छौं,” उनले भने, “चार वर्षभित्र ६ हजारदेखि ८ हजार किलोमिटर सडक कालोपत्रे गर्न, पूर्वपश्चिम र उत्तरदक्षिण रेलमार्ग निर्माणदेखि पानीजहाज सञ्चालनका लागि खर्च गर्ने हाम्रो लक्ष्य छ ।”

सरकारले ९ सय ४५ किलोमिटरको पूर्वपश्चिम रेलमार्गमा चीन, भारत, दक्षिण कोरिया र जापान सरकारमार्फत ०.१ प्रतिशत सहुलियत ऋणमा ४० वर्षभित्र तिर्नुपर्ने गरी लिने सहमति जनाउने तयारीसमेत गरेको उनले जानकारी दिए ।

नयाँ सरकार गठन भएपछि ५१ अर्ब थप वैदेशिक सहयोग प्रतिवद्धता आएको स्मरण गर्दै उनले विकासका लागि रकमको अभाव नहुने बताए । मन्त्री महासेठले जलमार्गलाई प्राथकिमताको साथ अगाडि बढाएको पनि बताए ।

व्यवसायीहरूले कोलकाता बन्दरगाहबाट मात्रै सामान ल्याउने बाध्यतालाई अन्त्य गर्न माग गरेको स्मरण गर्दै उनले भारत सरकारको सहयोगमा मार्च महिनाभित्र झारखण्डको साहेबगन्ज बन्दरगाहबाट सामान ल्याउने तयारी भएको बताए । विराटनगरबाट साहेबगन्जको दूरी १४५ किलोमिटर छ ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह