काठमाडौं । अमेरिका–इजरायलको संयुक्त आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्ला प्रार्थना परिसरमा राख्ने तयारी भइरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
तेहरानको ग्रान्ड मोसल्ला राजधानीका सबैभन्दा ठूला राज्य तथा धार्मिक समारोह आयोजना हुने विशाल प्रार्थना स्थल हो । खामेनीको निधनपछि आयोजना गरिएको तीन दिने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत हजारौँ शोकाकुल नागरिक उक्त स्थलमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
इरानमा सर्वोच्च नेताको निधनपछि “विदाइ समारोह” तथा त्यसपछि “अन्त्येष्टि जुलुस” आयोजना गर्ने प्रोटोकल रहेको बताइएको छ । यता, इरानले बिहीबार इजरायल र अमेरिकाले इस्लामिक गणतन्त्रको शासन परिवर्तन गर्ने प्रयास गरे इजरायलको डिमोना आणविक केन्द्रलाई निशाना बनाउने चेतावनी दिएको छ । यो चेतावनी इजरायलका रक्षामन्त्री इस्रायल कात्जले “नयाँ नेता नियुक्त भए पनि उसलाई समाप्त पार्ने लक्ष्य हुन सक्छ” भन्ने अभिव्यक्ति दिएपछि आएको हो ।
उता इजरायलमा भने इरानले फेरि ब्यालेस्टिक मिसाइल आक्रमण गरेको इजरायली रक्षा बलले जनाएको छ । केन्द्रीय इजरायल, जेरुसेलम क्षेत्र तथा वेस्ट बैंकका केही भागमा सायरन बजाइएको बताइएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले “अपरेसन ट्रु प्रमिस–४” अन्तर्गत १९औँ चरणको संयुक्त मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको जनाएको छ ।
आईआरजीसीका अनुसार “या हसन इब्न अली” नामक कोड प्रयोग गरी कब्जामा रहेका क्षेत्र र अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ठूलो विस्फोटसहित आक्रमण सुरु गरिएको हो । यसअघि पनि आईआरजीसीले क्षेत्रभरि रहेका इजरायली तथा अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको थियो । इरानी सरकारी टेलिभिजन प्रेस टिभीका अनुसार यो आक्रमण इजरायल र अमेरिकाको “उत्तेजनारहित आक्रमण” को जवाफस्वरूप सुरु गरिएको बताइएको छ ।
आईआरजीसीले अमेरिकी तथा इजरायली सातभन्दा बढी उन्नत रडार प्रणाली ध्वस्त पारेको दाबी गर्दै यसले उनीहरूको निगरानी सञ्जाल “अन्धो बनाएको” उल्लेख गरेको छ । साथै इरानी मिसाइलहरूले इजरायलको रक्षा मन्त्रालय परिसर, तेल अवीव तथा बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निशाना बनाएको दाबी गरिएको छ । इरानी पक्षका अनुसार लगातार मिसाइल र ड्रोन आक्रमणका कारण इजरायलका विभिन्न क्षेत्रमा घण्टौँसम्म हवाई आक्रमणको सायरन बजेको र सर्वसाधारणलाई आश्रयस्थलमा बस्न बाध्य बनाएको छ । आगामी दिनमा आक्रमण अझ तीव्र र व्यापक हुने चेतावनी पनि इरानले दिएको छ ।
पश्चिम एसियामा जारी यो द्वन्द्व बिहीबार छैटौँ दिनमा पुगेको छ । अमेरिकी पक्षले आफ्नो सैन्य अभियान “भर्खर सुरु भएको” दाबी गरेकाले यो संघर्ष अपेक्षाभन्दा लामो समयसम्म चल्न सक्ने आशंका गरिएको छ । एएनआई










प्रतिक्रिया