Logo

कर्पोरेट-बजार

नेपाली युवा उद्यमी मञ्चको पोखरा लोमान्थाङ मोटर र्‍याली


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


नेपाली युवा उद्यमी मञ्च(एनवाइइएफ) ले पोखरा–लोमान्थाङ मार्गमा मोटर र्‍याली आयोजना गरेको छ । कास्कीको पोखरादेखि चीन र नेपालको सिमाना कोरलासम्मको र्‍याली आज पोखराबाट सुरु भएको हो ।

कात्तिक २० गतेसम्म हुने उक्त मोटर र्‍यालीको नारा ‘आन्तरिक पर्यटनका लागि सबैसँगै’ रहेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी शाखा प्रमुख काशीराज भण्डारीले झण्डा हल्लाएर र्‍याली उद्घाटन गर्दै सहभागी टोलीलाई बिदाइ पनि गर्नुभयो ।

कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई यस र्‍यालीले माथि उकास्न सहयोग गर्ने प्रमुख उहाँले बताउनुभयो । यस कार्यक्रमले आपसी भाइचारा बढाउँदै आन्तरिक तथा बाह्य पर्यटनमा सहयोग पुग्ने प्रमुख भण्डारीको भनाइ थियो । भविष्यमा उद्योगको क्षेत्रमासमेत योगदान पुर्‍याउनसक्ने युवा उद्यमीले र्‍याली आयोजना गर्नु नै हरेक क्षेत्रबाट महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

सातवटै प्रदेशका विभिन्न च्याप्टरका ६० भन्दाबढी सदस्य तथा युवा उद्यमी र्‍यालीमा सहभागी छन् । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न मोटर र्‍याली देशव्यापीरुपमा आयोजना गर्दै जाने नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष रितेश लामिछानेले जानकारी दिनुभयो । मञ्चले यसभन्दाअघि मेची महाकाली मोटर र्‍याली गरिसकेको छ ।

स्थानीय संस्कृतिलाई प्रचारप्रसार गर्न यसले टेवा पुर्‍याउने नेपाली युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुयस मल्लले बताउनुभयो । यसबाट मुस्ताङको भौगोलिक अवस्था र संस्कृति बुझ्नाका साथै सबै च्याप्टरका पदाधिकारीबीच भेटघाट गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको र यसबाट गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा केही भए पनि राहत मिल्ने उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह