Logo

Banner-news

बालेनले पहिलोपटक रास्वपाको नीतिको अपनत्व लिए, ट्रेड युनियन र विद्यार्थी संगठनबारे के भने ?


gdpnepal
   २२ बैशाख २०८३, मंगलबार


काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्ने सरकारको निर्णयबारे सार्वजनिक रूपमा स्पष्टता दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू दलगत “स्लिपर सेल” मा परिणत हुँदा प्रणालीप्रतिको जनविश्वास कमजोर भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार लामो समयदेखि योग्यता र क्षमताभन्दा पहुँच, झोला र झण्डाको मूल्य बढाइँदा शैक्षिक र प्रशासनिक संरचना प्रभावित भएको छ। “विद्यार्थी र कर्मचारीको हितभन्दा दलगत स्वार्थ हाबी हुँदा समग्र प्रणाली कमजोर बन्यो,” उनले भनेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने निर्णय संगठन निर्माण गर्न नसकेर नभई सचेत रूपमा लिएको दाबी गरेका छन्। “अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,” उनको भनाइ छ।

सरकारले अध्यादेशमार्फत शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्ने निर्णय गरेको बताउँदै प्रधानमन्त्रीले यसले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता बलियो बनाउने जिकिर गरेका छन्। अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षता मुख्य आधार बन्नुपर्ने उनको धारणा छ।

प्रधानमन्त्री शाहले विद्यार्थीले सभ्य, जिम्मेवार र विचारमा आधारित राजनीति सिक्नुपर्ने र कर्मचारीले कुनै दल नभई जनताको सेवा गर्नुपर्ने बताए। “यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, प्रणाली र भविष्य बचाउने प्रयास हो,” उनले उल्लेख गरेका छन्।

सरकारले यो कदम आम जनचाहनाअनुसार लिएको दाबी गर्दै प्रधानमन्त्रीले यसको कार्यान्वयनमा सबैको साथ र विश्वास आवश्यक रहेको बताएका छन्।

 

प्रकाशित : २२ बैशाख २०८३, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह