Logo

कर्पोरेट-बजार

कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर रु एक हजार चार सय ७५ कायम गरिएको छ । त्यस्तै मिनिबस÷हाइसको एक हजार ५७० लाई बढाएर रु एक हजार आठ सय पाँच कायम गरिएको छ ।

त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि रु एक हजार आठ सय ४५ मा १५ प्रतिशत बढाएर रु दुई हजार एक सय २१ भाडा पुगेको उहाँले बताउनुभयो । प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि रु चार हजार भाडा लिने गरेको बसको भाडादर रु तीन हजार दुई सय २० कायम गरिएको छ ।

नागरिकले अटोरिक्सा, जीप, हाइस÷मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडादरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ ।

सवारी यातायातसम्बन्धी ऐन नबनेका कारण मनोमानी तरिकाले व्यवसायीले भाडा असुल्ने गरेको नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले बताउनुभयो । नागरिकलाई केन्द्रमा राखेर व्यवसायीले न्यायोचित भाडा लिनुपर्ने र त्यहीअनुसार सेवा दिनुपर्ने उहाँको भनाइ छ ।

स्थानीय दीपक शाहीका अनुसार १५ प्रतिशत भाडा बढाएर दर कायम गरे पनि यातायात व्यवसायीले दुई÷चार सय बढी नै असुल्ने गरेको दाबी गर्नुभयो । नेपाल सरकारको निर्धारित भाडा दरअनुसार पक्की सडकमा ठूलो सवारी साधन प्रति किलोमिटर रु ५ दशमलव ३९, मझौला सवारी साधन प्रतिकिमी रु ६ दशमलव ६० र सानो सवारीसाधन प्रतिकिमी रु ७ दशमलव ७५ छ । जसमा कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले १५ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो ।

कायम भाडादर कार्यान्वयनमा आएन

व्यवस्थापक एवं नियमनकारी निकायले भाडादर कायम गरे पनि यातायात व्यवसायीहरुले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । चार दिनअघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दरभन्दा बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताउनुभयो ।

उहाँका अनुसार जुम्ला–सुर्खेत हाइसको भाडा रु एक हजार आठ सय पाँच हुँदा जुम्ला कुडारीबाट सुर्खेतका लागि थप रु छ सय तिर्नुपरेको बताउनुभयो । छोटो दूरीमा चल्ने अटो रिक्साले प्रतिकिमी रु ८ दशमलव ५२ र जीप तथा भ्यान रु ७ दशमलव ५९ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रतिकिलोमिटर रु १२ देखि १४ दशमलव २८ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गर्नुभयो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह