Logo

Banner-news

विवादास्पद ‘छायाँ सेन्टर’ उद्घाटनमा किन निम्त्याइए योगेश भट्टराई ?


appharu
   ११ पुस २०७५, बुधबार


काठमाडौं । काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ नामक होटल तथा मल सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरियो ।

बैंकर पृथ्वीबहादुर पाँडे नेतृत्वमा केही व्यवसायीले लगानी गरेको छायाँ सेन्टर नाम भने पाँडेले आफ्नी आमाको नाममा राखेका हुन् । पाँडे इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् । लामो समय कार्यकारी अध्यक्षको भूमिकामा रहेका पाँडे हाल कार्यकारी भूमिकामा नरहे पनि उनकै परिवारका ज्योतिप्रकाश पाँडेले प्रमुख कार्यकारी अधिकृतको भूमिका निर्वाह गरिरहेका छन् ।

छायाँ सेन्टर निर्माणको सुरुवातदेखि नै विवादास्पद प्रोजेक्टसमेत हो । स्थानीयवासीले मंगलबार भित्र उद्घाटन समारोह चलिरहँदासमेत बाहिर विरोध प्रदर्शन जारी राखे । मूलतः गुठीको जग्गालाई रैकर बनाएर निर्माण गरिएको छायाँ सेन्टर निर्माणको जिम्मा सुरुवातदेखि नै पर्यटन व्यवसायी तथा यसका साझेदार सुमन पाण्डेले लिइरहेका छन् ।

पाण्डेले स्थानीयको अवरोध टार्न ठमेलका गुण्डाहरुलाई हात लिएको जानकारहरु बताउँछन् । छायाँ सेन्टर निर्माणका लागि जग खन्नेदेखि सामान खरीद गर्नेसम्मका काममा गुण्डाको प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । गुण्डा प्रयोग गर्दा स्थानीयले अवरोध गर्न सकेनन् भने निर्माण सामग्रीको पनि कहिल्यै अभाव भएन ।

ठमेलकै एक स्थापित व्यवसायीका अनुसार कुनै पनि व्यापार व्यवसाय वा निर्माण कार्य गर्नुपर्दा प्रहरीभन्दा गुण्डाको साथ सहयोग लिनु उचित हुने मान्यता छायाँदेवी कम्प्लेक्सले स्थापित गरिदिएको छ ।

छायाँ सेन्टर उद्घाटनमा मंगलबार अनौठो दृश्य देखियो । उद्घाटनका लागि निम्त्याइएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी आएनन् । उनी नआएपछि उद्घाटन गरे छायाँ सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडे र सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले ।

सांसद भट्टराई छायाँ सेन्टर उद्घाटनमा पुग्नु र उद्घाटन नै उनीबाट गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तत्कालीन एमाले अध्यक्ष केपी ओलीले तेज तरार गरेका भट्टराई चुनावअघि मन्त्री बनाउने सार्वजनिक घोषणा गरेर पनि मन्त्री नबनाइएका नेतासमेत हुन् । ओली नेतृत्वको सरकारको कार्यशैलीविरुद्ध प्रतिपक्ष कांग्रेसभन्दा पनि आक्रामक भट्टराई पार्टीमा समेत फरक गुटका शक्तिशाली नेता हुन् ।

भट्टराई उदघाटनमा निम्त्याइनुले निजी क्षेत्र दुईतिहाई बहुमतको पार्टीप्रति आशावादी रहे पनि केपी शर्मा ओलीको वर्तमान सरकारको कार्यशैलीप्रति निराश भइरहेको संकेत गरेको छ । प्रधानमन्त्री ओली नजिकका विष्णु रिमालसँग सामाजिक सञ्जालबाटै आलोचनात्मक दोहोरी खेलेका कारण उनी ओलीको गुडबुकमा छैनन् । काठमाडौंका सांसदसमेत नरहेका भट्टराई युवा पुस्ताका आशालाग्दा नेता भने हुन् ।

कस्तो छ छायाँ सेन्टर ?
‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न सपिङ कम्प्लेक्स भएको संचालकहरुको दाबी छ । उक्त कम्प्लेक्समा ठमेल बजारमा पर्यटनसँग जोडिएका सबै किसिमका सेवा एकै ठाउँमा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ को रुपमा प्रवद्धन गरिएको छायाँ सेन्टरको भनाई छ ।

पर्यटकीय व्यवसायिक गन्तव्यका रुपमा छाँया सेन्टर सञ्चालनमा ल्याइएको हो । कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामाग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लब लगायत सुविधा पनि उपलब्ध छन् । यस्तै, बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहनेछन् ।
साथै छाँया सेन्टरमा पाँच तारे स्तरको अलफ्ट होटल पनि आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छाँया सेन्टरले जनाएको छ । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालनमा आउन लागेको हो ।

अहिले होटलको इन्टेरियर डिजाइनको काम हुँदैछ । १५ तले भवनको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुनेछ । होटलसँगै छायाँ सेन्टरमा क्यासिनो पनि सञ्चालनमा आउने बताइएको छ ।

ठमेलमा करिब १५ रोपनी क्षेत्रफलमा बनेको यो अत्याधुनिक व्यापारिक कम्प्लेक्स सन् २०१३ बाट निमार्ण थालिएको थियो । प्राविधिक कारणले निर्माण कार्य केही लम्बिएका कारण लक्षित समय भन्दा केहि ढिला गरि छायाँ सेन्टर संचालनमा आएको हो । पाँच बर्ष लगाएर निमार्ण गरिएको सेन्टरको लागत समेत पाँच अर्ब माथि पुगेको निमार्ण पक्षले जनाएको छ ।

पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ् कम्प्लेक्स संचालन गर्न लागिएको छाँया सेन्टरका अध्यक्ष पृथ्वी बहादुर पाँडेले बताए । ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्रै नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरवृद्धि गर्न सहयोग र्पुयाउने विश्वास उनको छ ।

कम्प्लेक्समा तीन सय बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निमाणर््ा गरिएको छ । यो नेपालकै नमूना र व्यस्त कम्प्लेक्स हुनेमा कम्पनीका लगानीकर्ता आशावादी छन् ।

नेपाल इन्भेष्टेमन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको नेतृत्वमा बैंकिंग, निर्माण, जलविद्युत, व्यापार, उद्योग, पर्यटन लगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा छाँया सेन्टर सञ्चालनमा आएको हो ।

प्रकाशित : ११ पुस २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह