Logo

Banner-news

काठमाडौं मलमा गुन्डाराजः व्यवसायी आन्दोलित, सञ्चय कोष रमिते


appharu
   २५ पुस २०७५, बुधबार


काठमाडौं । राजधानीको मुख्य भागमा रहेको काठमाडौं मलमा अहिले गुन्डाहरुको राज चलिरहेको छ । कर्मचारी सञ्चय कोषको लगानी रहेको यो मलबाट अहिले न कोषले लाभ पाउन सकिरहेको छ न त त्यहाँका व्यवसायीहरुले नै ।

स्थापनाकालदेखि नै गुन्डाहरुकै खटनपटनमा चलिरहेको काठमाडौं मल अहिले पनि राज चलाउने फेरिए पनि प्रवृत्ति भने नफेरिएको स्थानीय व्यवसायीहरु बताउँछन् । कोषको फितलो व्यवस्थापनका कारण जुनसुकै बेला जस्तोसुकै घटना घट्नसक्ने अवस्था रहेको भन्दै स्थानीय व्यवसायी त्रसित छन् ।

काठमाडौंको मुटु सुन्धारामा रहेको यो मल सम्भवतः काठमाडौंकै सबैभन्दै बढी व्यस्त मलसमेत हो । यसमा रहेका ३ सय व्यवसायीले बेलाबखत महँगो मूल्य लिएको भन्दै आलोचना हुने गरे पनि अहिलेसम्म राम्रो अनुगमन हुन सकेको छैन ।

२०६२ सालदेखि सञ्चालनमा आएको यो मलका व्यवसायीहरु फेरि आन्दोलित भएका छन् । बिचौलियाहरुको बलमा उनीहरुलाई हटाउने प्रकृया सुरु भएसँगै उनीहरु आन्दोलित भएका हुन् । उनीहरु सबैको करार अवधि सकिएको भन्दै हटाउने प्रक्रिया सुरु भइसकेको छ ।

विचौलियाले देखाइरहेको त्रास, गरिरहेको गुन्डागर्दी र बनाइरहेको भयको वातावरण विरुद्ध आफूहरु बोल्न डराइरहनुपर्ने अवस्था रहेको स्थानीय व्यवसायी बताउँछन् ।
हाल प्रदेश ३ उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अगुवाईमा १ सय ५० भन्दा बढी व्यवसायी यसविरुद्ध ऐक्यबद्ध भएका छन् । उनीहरुले ९ बुँदे माग यसरी प्रस्तुत गरेका छन्ः

१. मलमा सधैं कमचारी सञ्चय कोषले एक्कासी ठेकेदार पठाउने र ठेकेदारले मनपरी भाडा उठाउने प्रवृत्ति रहेकाले आगामी दिनमा पसलको भाडा व्यापार समितिले ब्यवसायीसँग भएको सम्झौता पत्रअनुसारको रकम र नयाँ पषसल राखेकाहरु लाई समेत त्यसैको आधारमा भाडा रकम तय गरेर मात्र ठेक्का प्रक्रिया अगाडी बढाउनु पर्ने । यसले ठेक्कामा लिने ठेकेदार समेत कति भाडा उठछ भन्ने प्रष्ट हुने छ ।

२. पछिल्लो समय शिवलक्ष्मी कोजुको टेन्डर कर्मचारी सञ्चय कोषले रद्द गरिसकेको अवस्थामा अर्को टेन्डरको ब्यवस्था नहुन्जेल सम्म कर्मचारी संचय कोषले व्यवसायीहरु मिलेर सञ्चालन गर्न भनिरहेको छ । तर, यो फेरि पनि मल हत्याउन चाहने विचौलियालाई बाटो खोलिदिनु सरह हो । पहिलेकै प्रक्रिया र चलखेलको पुनरागमन हो । यसलाई व्यवस्थित व्यवसायीहरुको सहयोगमा संचय कोष आफै आएर पारदर्शी रुपमा केही समय सञ्चालन गर्नुपर्छ । यसले आगामी दिनमा कसरी अघि बढ्ने भन्ने समेत तय गर्नेछ भने व्यवसायी पनि ढुक्क हुने वातावरण बन्नेछ ।

३. काठमाडौं मल भवन धेरै पुरानो नभइसकेकाले केही मर्मत सम्हार गरे व्यवस्थित हुने देखिन्छ । त्यसका लागि यहाँका पार्किङ, शौचालय, लिफ्ट, एक्साभेटर नचल्ने अवस्थाले व्यवसायलाई मार परेकोले तत्काल कर्मचारी सञ्चय कोषले मर्मतसम्हार गर्नुपर्ने ।

४. विभिन्न समय र अवस्थामा काठमाडौं मलमा अनियमितता भएको देखिन्छ । यसका लागि कर्मचारी सञ्चय कोषले तत्काल छानविन कमिटि बनाइ छानविनको प्रक्रिया अघि बढाउनु पर्ने ।

५.मलमा व्यवसायी भन्दा बाहिरका मान्छेको हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने ।

६. मल अगाडिको फुटपाथमा बाटो नै बन्द हुनेगरी राखेको पसलले मल आवातजावतमै समस्या परेको हुनाले हटाउन तत्काल पहल गर्ने ।

७. काठमाडौं मलमा नेपाल उद्योग वाणिज्य संघका कर्मचारीमाथि हमलाको आदेश दिनेमाथि कार्वाही गर्नुपर्ने ।

८. डर र त्रास देखाएर सटरहरु बन्द गराइएको छ । कमचारी सञ्चय कोषको सूचना पछि बन्द भएका ब्यवसायीका सटरहरु तत्काल खुलाउनु पहल गर्नुपर्ने । र सामान खरिद गर्न आउने सुबिदाको लागि राखिएको एटीएमहरु हटाईएकोमा तत्काल ति एटिएमहरु सञ्चालनमा ल्याउने ।

९. सधैं विवाद, अन्योलता र अस्थिरता बीच गुज्रिरहेको मल सञ्चालनलाई व्यवस्थित गर्न उचित ऐननियम निर्माण गरिनुपर्ने ।

प्रकाशित : २५ पुस २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह