Logo

बिजनेस होम

३१ वर्षीय सुनिल केसी महासंघ कार्यकारिणी समिति सदस्यमा निर्विरोध निर्वाचित !


GDP Nepal
   २४ चैत्र २०७९, शुक्रबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुको तर्फबाट सुनील केसी कार्यकारिणी समिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । युवा व्यवसायी केसी नेपाल इन्डिया उद्योग वाणिज्य संघका उपाध्यक्ष हुन् ।

महासंघको कार्यकारिणी समितिमा निर्विरोध निर्वाचित हुने केसी पहिलो हुन् । द्विराष्ट्रिय क्लष्टरको एक सदस्य पदमा केसीको मात्र उम्मेदवारी परेको छ । युवा व्यवसायी केसी ३१ वर्षको उमेरमै महासंघको कार्यकारिणी समितिमा प्रवेश गरेका छन् ।

यसपटक महासंघमा पठाउने पालो नेपाल भारत उद्योग वाणिज्य संघको थियो । नेपाल इन्डिया चेम्बरबाट उपाध्यक्ष सुनिल केसीलाई सो पदमा प्रस्ताव गरिएको थियो ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुका तर्फबाट महासंघमा सबै संघको सहमतिमा पालैपालो प्रतिनिधित्व हुँदै आएको छ । संघहरुबीच ‘अल्फाबेटिकल अर्डर’ अनुसार प्रतिनिधि छनोट गरिन्छ ।

हाल महासंघमा २० द्विराष्ट्रिय उद्योग वाणिज्य संघ सदस्य रहे पनि सबैले नवीकरण नगर्ने गरेका कारण एकमात्र सदस्यको प्रतिनिधित्व हुँदै आएको छ । महासंघको विधानअनुसार २० सदस्य भएमा दुई कार्यकारिणी समिति सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । नेपाल– टर्की, अष्ट्रेलियालगायतका चारवटा द्विराष्ट्रिय उद्योग वाणिज्य महासंघको नेतृत्व गरिरहेका अखिलकुमार चापागाइँले महासंघले आफूहरुको क्लष्टरलाई बेवास्ता गरेका कारण अधिकांश द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुले नवीकरण गर्न नचाहेको बताए ।

महासंघमा २० सदस्य बराबर एक उपाध्यक्षको व्यवस्था हुने व्यवस्था कार्यान्वयनमा नआएका कारण नवीकरण नगरिएको उनको भनाइ छ । महासंघले द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मताधिकार एशोसिएट समूहमा राखेको छ ।

महासंघको हालको कार्यसमितिमा सन्दीप अग्रवाल द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए । उनले नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गरेका थिए ।

यसअघि नेपाल चीन उद्योग वाणिज्य संघका त्रिभुवनधर तुलाधर, नेपाल थाइल्यान्ड उद्योग वाणिज्य संघका अजयकुमार मुडभरी तथा नेपाल मलेसिया चेम्बर अफ कमर्सबाट चन्द्रप्रसाद ढकालले महासंघ कार्यकारिणी समितिमा प्रतिनिधित्व गरिसकेका छन् ।

महासंघको आसन्न साधारणसभाबाट ढकाल अध्यक्षमा निर्वाचित हुँदैछन् । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट महासंघमा प्रतिनिधित्व गर्ने ढकाल पहिलो हुन् ।

महासंघको विधानमा गरिएका व्यवस्था अनुरुप मताधिकार प्रयोगका लागि द्विराष्ट्रिय उद्योग वाणिज्य संघ प्रचलित कानून वमोजिम दर्ता भएको, पहिलो साधारण सभा सम्पन्न भई निर्वाचित कार्य समिति गठन भएको हुनुपर्ने व्यवस्था छ ।

यस्तै, अघिल्लो तीन वर्षसम्म नेपालको कुल आयात निर्यात व्यापारको कम्तिमा एक प्रतिशत अंश व्यापार हुने मूलूकसंगको व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित भएको, र कम्तिमा १०० वटा प्रचलित कानून वमोजिम दर्ता भएका शुल्क तिर्ने सदस्य भएको हुनुपर्ने व्यवस्था रहेको छ ।

यसैगरी द्विराष्ट्रिय उद्योग वाणिज्य संघको मताधिकारको हकमा एशोसिएट समूह भित्र रहने छ र सोही समूह भित्र रहि यस विधानमा गरिएको व्यवस्था अनुरुप मताधिकारको प्रयोग गर्ने उल्लेख छ ।

प्रकाशित : २४ चैत्र २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह