Logo

बिजनेस होम

महासंघमा अञ्जन र उमेशलालबीच मुख्य प्रतिस्पर्धा, पछ्याउँदै संघई !


GDP Nepal
   २८ चैत्र २०७९, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका निमित्त बुधबार हुने निर्वाचनमा अञ्जन श्रेष्ठ उमेशलाल श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रारम्भिक आकलनअनुसार दुवै उम्मेदवार दोस्रो चरणमा जाने देखिन्छ भने वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी रामचन्द्र संघई पहिलो चरणबाटै बाहिरिनेछन् ।

अञ्जन श्रेष्ठ महासंघको साविक कार्यकारिणी समितिमा वस्तुगततर्फ उपाध्यक्ष हुन् भने उमेशलाल पूर्व उपाध्यक्ष हुन् । अढाई वर्षअघि भएको महासंघ निर्वाचनमा उमेशलालले अञ्जनसँगै पराजय बेहोरेका थिए । संघई एशोसिएट उपाध्यक्ष हुन् । उनले उक्त चुनावमा सौरभ ज्योतिलाई हराउँदै अप्रत्यासित नतिजा निकालेका थिए ।

महासंघका दुई दर्जनभन्दा बढी उद्योग वाणिज्य (जिल्लानगर) प्रतिनिधिसहित सोही संख्यामा रहेका वस्तुगत संघका प्रतिनिधि तथा एशोसिएट क्षेत्रमा बढी भोट भएका केही प्रतिनिधिसँगको कुराकानीका आधारमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई एशोसिएट क्षेत्रमा तुलनात्मक रुपमा बलियो देखिए पनि वस्तुगतमा भने कमजोर देखिएका छन् । यस्तै, उद्योग वाणिज्य भनिने जिल्ला तथा नगर उद्योग वाणिज्य क्षेत्रमा पनि उनको प्रभाव नगण्य देखिन्छ ।

महासंघ विधानअनुसार एशोसिएट क्षेत्रको कूल मतभार ३० प्रतिशत छ भने उद्योग वाणिज्यको ५० प्रतिशत तथा वस्तुगतको २० प्रतिशत रहेको छ ।
उद्योग वाणिज्य (जिल्लानगर) क्षेत्रमा अञ्जन श्रेष्ठभन्दा उमेशलाल श्रेष्ठ थोरै मतले कमजोर देखिएका छन् । तर, वस्तुगततर्फ भने उमेशलालभन्दा अञ्जन थोरै मतले अगाडि देखिन्छन् । एशोसिएटमा दुवै उम्मेदवार बराबरी जस्तै रहेको र संयुक्त प्यानल रहेका कारण मत कता जान्छ भन्न सकिने अवस्था छैन ।

यसरी हेर्दा दोस्रो चरणमा अञ्जन र उमेशलाल पुग्ने र यसको लाभ अञ्जनलाई हुने देखिन्छ । किनकी हाल संघईसँँग रहेकामध्ये ८० प्रतिशत बढीले अञ्जनलाई नै भोट दिने आकलन गरिएको छ । मारवाडी समुदाय र राजनीतिक रुपमा गैरकम्युनिष्ट भोटहरु त्यसबेला एकत्रित हुनसक्ने देखिएको जानकारहरु बताउँछन् ।

उपाध्यक्षतर्फ उद्योग वाणिज्य (जिल्लानगर)मा दिनेश श्रेष्ठ केही बलियो देखिए पनि हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँगको उनको द्वन्द्व भारी पर्नसक्ने आकलन पनि गरिएको छ । यसको लाभ अरुणराज सुमार्गी र सुरकृष्ण वैद्यमध्ये कसलाई पर्छ भनेर यसै भन्न सकिने अवस्था नरहेको बताइन्छ । यद्यपि, सुरकृष्णलाई जित्ने उम्मेदवारका रुपमा नलिइएका कारण यो लाभ सुमार्गीले पाउनसक्छन् ।

चन्द्र ढकाल र दिनेश श्रेष्ठबीच बैंकको ब्याज लगायतका विषयमा वाकयुद्ध जस्तै अवस्था छ । ढकाल तटस्थ रहे पनि आसन्न कार्यसमितिमा आफ्नो अनुकूल टिम आओस् भन्ने चाहान्छन् ।

वस्तुगत उपाध्यक्षमा अढाई वर्षअघिको इतिहास दोहोर्याउने प्रयासमा अञ्जन श्रेष्ठ समूह लागिपरेको छ भने उमेशलाल श्रेष्ठ समूह भने त्यसलाई उल्ट्याउन चाहान्छ । उपाध्यक्षका प्रत्यासीमध्ये मनिषलाल प्रधानलाई पूर्वअध्यक्ष महेशलाल प्रधानको छोरा हुनुको लाभ जति छ त्यति नै घाटा हेमराज ढकाललाई पूर्वअध्यक्ष चण्डीराज ढकालको भाइ हुनुमा देखिन्छ ।

यद्यपि, ढकाल समूहले आक्रामक प्रचार गरिरहेको देखिन्छ भने प्रधान समूह रणनीतिक रुपमा अघि बढेका कारण कसले बाजी मार्छ भन्ने अहिल्यै आकलन गर्न गाह्रो छ ।

वस्तुगत तर्फ सदस्यहरु पनि दुवै समूहबाट सात–सात जना निर्वाचित हुनसक्ने आकलन गरिएकाले पनि उपाध्यक्षमा चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।

एशोसिएटतवर्फ उपाध्यक्षका उम्मेदवार भरत आचार्य र ज्योत्सना श्रेष्ठमध्ये कसले बाजी मार्छ भन्ने स्पष्ट छैन । कूल १ हजार ७४८ मतदातामध्ये बढी मतसंख्या भएका ठूला घराना दुवै पक्षमा आधाजस्तो रहेको र ससाना मतदाता नै निर्णायक हुने देखिन्छ । महासंघमा यसरी आफैं मताधिकार प्रयोग गर्ने करिब ३ सय मतदाता नै निर्णायक हुने देखिन्छ ।

महासंघ एशोसिएट सदस्यका लागि दुवै समूहको पूर्ण टिम नभएका कारण मतसंख्या आकलन गर्न कठिन हुने जानकारहरु बताउँछन् ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह