काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरिसकेको छ ।
गतसाता राजधानीमा सम्पन्न साधारणसभाले ढकालको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठसहित उपाध्यक्षत्रयमा सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलाई चयन गरेको हो ।
महासंघको कार्यकारिणी समितिमा मारवाडी समुदायको प्रतिनिधित्व निकै कमजोर देखिएको छ ।
महासंघको साधारणसभाले मारवाडी समुदायबाट आनन्दकुमार अग्रवाल (बगडिया), ऋषि अग्रवाल (चैनवाला), राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, सन्दीपकुमार अग्रवाल र हेमन्त गोल्छालाई चयन गरेको छ ।
उनीहरु सबै एशोसिएट समूहबाट सदस्यमा निर्वाचित भएका हुन् । १९ सदस्यीय एशोसिएट समितिमा ६ जनामात्र सदस्य यो समूदायबाट रहेका छन् । वस्तुगत संघ तथा उद्योग वाणिज्य संघ समूहबाट मारबाडी समुदायबाट कोही निर्वाचित भएका छैनन् ।
पदाधिकारी समिति भनिने स्थायी समितिमा यसपटक नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा लामो इतिहास बोकेको मारवाडी समूदाय भने अटाउन सकेन । यो समूहबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईमात्र प्रतिस्पर्धामा थिए । संघई पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिए ।
निवर्तमान अध्यक्षका रुपमा शेखर गोल्छा पदेन सदस्य रहने भए पनि स्थायी समितिमा उनीबाहेक मारवाडी समुदायको उपस्थिति रहन सकेन ।
मूलतः एशोसिएट समूहबाट यो समूहको प्रतिधिनित्व हुने गरे पनि उपाध्यक्षका प्रतिस्पर्धीका रुपमा हेरिएका साहिल अग्रवाल महासंघबाटै बाहिरिए भने अर्का आकांक्षी सन्दीप अग्रवाल सदस्यमा सीमित रहे । यद्यपि सन्दीप यसअघि वस्तुगत समूहबाट सदस्य निर्वाचित भएका थिए ।
महासंघमा वि. सं. २०५६ पछि पदाधिकारी समितिमा दोस्रोपटक मारवाडी प्रतिनिधित्व कमजोर देखिएको हो । वि. सं. २०६४–६७ मा कुशकुमार जोशीले महासंघ नेतृत्व गर्दा पनि यस्तै अवस्था रहेको थियो । जसमा वरिष्ठ उपाध्यक्षसहित तीनैजना उपाध्यक्ष गैरमारवाडी समूदायबाट निर्वाचित भएका थिए ।
सुरज वैद्य नेतृत्व (२०६७–७०) मा एशोसिएट उपाध्यक्षका रुपमा पशुपति मुरारका, प्रदीपजंग पाण्डे तथा पशुपति मुरारका नेतृत्व (२०७०–७३) मा मुरारका पहिले वरिष्ठ उपाध्यक्ष र शेखर गोल्छा एशोसिएट उपाध्यक्ष, भवानी राणा नेतृत्व (२०७३–७७) मा शेखर गोल्छा वरिष्ठ उपाध्यक्ष थिए भने गोल्छा नेतृत्व (२०७७–७९)मा उनीसहित एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले मारवाडी समुदायबाट प्रतिनिधित्व गरेका थिए ।
विनोद चौधरीले दोस्रो कार्यकाल (२०५२–५४)मा नेतृत्व लिन नपाएसँगै महासंघमा मारवाडी भर्सेस नेवार समुदायको कहिले घोषित त कहिले अघोषित प्रतिस्पर्धा चलिरहेको छ ।
चौधरी बाहिरिएपछि महासंघको कार्यकारिणी समितिमा दिवाकर गोल्छा र राजेन्द्र खेतानले प्रथम उपाध्यक्षसम्म हुने अवसर पाए पनि नेतृत्व गर्न भने अन्तिम समयमा रोकिएको थियो । जसका कारण महासंघमा जातीय द्वन्द्व झनै बलियो बन्दै गएको बताइन्छ ।
यद्यपि, पशुपति मुरारका र शेखर गोल्छालाई अध्यक्ष बनाएर जातीय द्वन्द्व मेटाउने प्रयास सफल भएको छ ।
नेपाली अर्थतन्त्रमा मारवाडी समुदायको योगदानसम्बन्धी ठोस अध्ययन नभए पनि फोर्ब्स इन्डिया र अक्सफ्यामको तथ्यांकमा लगभग ११.६ प्रतिशत भारतीय अर्थतन्त्रमा मारवाडी समुदायको अनुमानित योगदान हुनसक्ने देखिएको छ ।
मारवाडीले भारतीय अर्थव्यवस्थाको ३५–४० प्रतिशतको योगदान दिएका छन् ।
भारतमा मारवाड़ी भनेको बानिया र जैन समुदाय उत्तर भारतबाट आएको हो । जुन मुख्यरूपमा राजस्थान र हरियानाबाट आएको मानिन्छ ।
नेपालको सन्दर्भमा मारवाडी समुदायले आर्थिक विकासमा र सामजिक सेवामा पु¥याएको योगादन उल्लेखनीय र अतुलनीय रहेको छ ।
प्रतिक्रिया