Logo

Banner-news

संघाई समूहको बदमासी: सरकारी चिया बगानमा रबर खेती !


GDP Nepal
   ९ बैशाख २०७६, सोमबार


काठमाडौं । इलामको माइ नगरपालिकामा रहेका दुई सरकारी चिया बगानमा संघाई समूह (त्रिवेणी समूह)ले सम्झौताविपरीत रबर खेती गरेको पाइएको छ । सरकारसँग ५० वर्षका लागि लिजमा लिइएको चिया बगानमा समूहले रबर खेती गरेको हो ।

संघाई समूहले चियाभन्दा कम लगानी र मेहनत लाग्ने भएपछि चियाबारीभित्रै रबर खेतीसमेत गर्न थालेको हो । रबर उत्पादन र प्रशोधनका लागि १ सय कर्मचारी खटिएका छन् ।

रबर खेती

स्थानीयका अनुसार चिया बगानका बीचमा कतै चिया मासेर र ठूलो परिमाणमा रुख मासेर पनि रबर लगाइएको पाइएको छ । रबर प्रशोधनले वातावरणीय प्रदूषणसमेत पैदा गर्ने भएपछि स्थानीयवासी संघाई समूहसँग असन्तुष्ट छन् ।

इलामका चार र झापाका तीन चिया बगान नेपाल सरकारले ५० वर्षका लागि संघाइ समूहलाई लिजमा दिएको हो । पुराना चिया बगानमा चिया भने मासिँदै गएको र अन्य झार जंगल वृद्धि भएकोमा स्थानीय चिन्तित रहेका छन् ।

संघाई समूहले सरकारसँग जे सम्झौता गरेको थियो सोही बमोजिम काम हुनु पर्ने उनीहरुले माग गर्दै आएका छन् । रबर खेतीमा श्रमिक कम लाग्ने र कच्चा रबरको बजारसमेत खोज्न सजिलो भएकाले संघाइ समूहले रबर खेती विस्तार गरेको पाइएको छ । समूहले यो वर्षमात्र कच्चा रबर बिक्रीबाट १४ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ ।
विगत तीन वर्षदेखि समूहले कच्चा रबर उत्पादन सुरु गरेको हो । चिलिमकोट चिया बगानमा १ सय ६३ हेक्टर क्षेत्रफलमा ७४ हजार रबरका विरुवा लगाइएको छ । यस्तै सोक्तिम चिया बगानमा २ हजार ५ सय बिरुवा लगाइएको छ । यी रबरका रुखबाट खोटो उत्पादन हुन थालेको तीन वर्ष भइसकेको छ ।
चियाको तुलनामा पाँच गुणा रबरबाट आम्दानी बढी हुने भएकाले रबर खेती लगाइएको हो ।

माघ, फागुन चैतबाहेक अन्य महिनामा रबर उत्पादन गरिन्छ । रबरको रुखबाट खोटो संकलन गरी त्यसलाई पकाएर कच्चा रबर बनाइन्छ । पकाएको रबर पातालाई धुँवामा सुकाइन्छ ।
कच्चा रबर कारखानामा लागि प्रशोधन गरिने बताइएको छ । उत्पादित रबरमध्ये ७५ प्रतिशत ट्युब टायर बनाउन प्रयोग गरिने र अन्य २५ प्रतिशत प्लाष्टिकका सामान बनाउन प्रयोग गरिन्छ ।

प्रकाशित : ९ बैशाख २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह